'प्रधानमन्त्री नियुक्त गर्ने नगर्ने राष्ट्रपतिको विशेषाअधिकार हो, राष्ट्रपतिलाई मुद्दा लाग्दैन' - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘प्रधानमन्त्री नियुक्त गर्ने नगर्ने राष्ट्रपतिको विशेषाअधिकार हो, राष्ट्रपतिलाई मुद्दा लाग्दैन’



काठमाडौं– वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बिना तथ्य आरोप लगाएको जिकिर गरेका छन्। संसद् विघटन विरुद्धको रिटमा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

उनले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि प्रश्न उठाइएको दाबी गरे। पन्तले भने, ‘संविधानले दलीय व्यवस्था अंगीकार गरेको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी कसरी पुग्न सक्छ? यसको व्याख्या अदालतले गर्नुपर्छ।’ उनले कोभिड–१९ महामारीका बेला हुलका हुल अदालतमा गएर दायर भएको मुद्दामा सनाखत हुन नसकेको प्रश्न पनि उठाएका छन्। बहसमा उनले भने, ‘कोभिडको समयमा हुलको हुल आएर रिट दर्ता गरियो। कसरी सनाखत भयो। यस्तो व्यवस्था मैले कतै देखेको थिइनँ।’

उनले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बढी प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका छन्। यस्तै उनले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि प्रश्न उठाइएको बताए। उनले भने, ‘राष्ट्रपतिको निर्णय सदर भए त ठिकै भयो बदर भए ओलीले न्याय नपाउने अवस्था आयो। राष्ट्रपतिको दिमागमा यसले बहुमत ल्याउन सक्छ भन्ने त हुनुपर्‍यो नि नत्र कसरी सदर हुन्छ?’

प्रधानमन्त्रीमा दाबी गरेका देउवा र ओलीको दाबी पुष्टि नभएकाले राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गरेको उनको भनाइ छ। उनले भने, ‘राष्ट्रपतिलाई मुद्दा लाग्दैन। राष्ट्रपतिलाई मुद्दा लाग्छ भन्ने नजिर गलत छ।’ उनले राष्ट्रपतिमाथि बिना तथ्य आरोप लगाइएको पनि बताए। उनले भने, ‘आधार हेरेर प्रधानमन्त्री नियुक्त गर्ने नगर्ने राष्ट्रपतिको विशेषाधिकार हो यसमा कसैको परामर्श सल्लाह लिइरहनु पर्दैन।’