प्रधानमन्त्रीको पसिना काढ्ने सांसदका दर्जन प्रश्न !
काठमाडौं – भर्खरै सम्पन्न बिमस्टेकको चौथो सम्मेलन र बिमस्टेक राष्ट्रका सदस्यबीच सैन्य अभ्यास गर्ने तयारी भइरहेको सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिखा प्रश्न सोधेका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनपछिको प्रश्नोत्तरमा प्रतिपक्षी दलका सांसदहरूले संयुक्त सैन्य अभ्यासका सम्बन्धमा प्रश्न सोधेका हुन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री ओलीलाई गरेका प्रश्नको सार यस्तो छ –
दिव्यमणि राजभण्डारी, नेपाली कांग्रेस
चौथो बिमस्टेक शिखर सम्मेलनले ज्वाइन्ट मिलिट्री एक्सरसाइज सेप्टेम्बर १० देखि १६ गर्ने भनेको समाचार आएको छ । यदि आतंकवाद, प्रतिआतंकवाद, लागूऔषध ओसारपसार र प्राकृतिक विपत्तिलाई सम्बोधन गर्न खोजेको हो भने राम्रो हो, तर कुनै एजेन्डामा नभएको र देशलाई गुमराहमा राखेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन् । सबै पक्षसँग सरसल्लाह नगरी, सदनलाई जानकारी नगराई सार्क राष्ट्रबीच पनि यस्तो कार्य नभएकाले नाकाबन्दीको समयमा लिएको राष्ट्रवादी अडानमा कतै आँच त आउने छैन ? सदनलाई जानकारी गराउनुहुन अनुरोध गर्दछु ।
प्रेम सुवाल, नेमकिपा
बिमस्टेक सम्मेलनमा भारतीयको नेतृत्वमा क्षेत्रीय छाता सुरक्षा बनाउने कुरा भएको समाचार आइरहेका छन्, के यो सत्य हो ? भारतीय प्रधानमन्त्रीको सुरक्षाका नाममा भारतीय एयर फोर्सको काठमाडौं आगमन यसैको शिलशीला भएको बताइन्छ । भारतले कोशी ब्यारेजमुनि बहाब पश्चिम फर्काएपछि ५ सय घर डुबेको छ । यसबारे पीडित नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा आएको समयमा पहल होस्, भनेका थिए । केही वार्ता भयो कि भएन ?
मीनेन्द्र रिजाल, नेपाली कांग्रेस
सम्मेलन बहुपक्षीय आर्थिक र प्राविधिक पक्षको, तर कुरा आयो मिलिट्री फिल्ड ट्रेनिङको । नेपाली जनताले आमनिर्वाचनमा मित्रराष्ट्रको प्रधामनन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने प्रधानमन्त्री बनाएका थिए । अब बुझाइदिनुहुन्छ होला नि, किन मिलिट्री एक्सरसाइज आवश्यक भयो, बहुपक्षीय र आर्थिक सहयोग बढाउनका लागि ?
रामबहादुर विष्ट, नेपाली कांग्रेस
बिमस्टेक सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई । सम्मेलनको घोषणापत्रमा सैन्य तालिमको कुरा आयो, त्यो पनि भारतको पुनेमा । सत्तापक्षका कतिपय माननीयले समेत यो विषयमा प्रश्न गरेको पाइयो । यो नेपालको हितमा छ कि छैन ?
अमरेशकुमार सिंह, नेपाली कांग्रेस
भर्खर प्रधानमन्त्रीजीले भन्नुभएको छ कि बिमस्टेक सम्मेलन सफल भयो । ९/१० पटक सफल भएको भनेर दोहोर्याउनुभयो । कहीँ असफल भएको पीडा त त छैन यहाँ ? सार्क टेकअफ हुँदैन, बिमस्टेक हुन्छ किन ? कहीँ यो सैनिक अभ्यासले कहीँ देश सैनिकीकरणतर्फ जाने त होइन ? किनकी सार्क र बिमस्टेकमा सदस्य राष्ट्रमा सैनिकीरण भएको छ । कतै डेमोक्रेसी खतरमा पार्ने सैनिकीकरणमा जाने फड्को मारेको त होइन ?
भरतकुमार साह, नेपाली कांग्रेस
प्रधानमन्त्रीले भन्नुभयो, हाम्रो सामर्थ्य बढेको छ । गोकर्णमा बाटो बनाउन नसकेर रिट्रीट नहुनुले भौतिक योजना मन्त्रालयको सामर्थ्य बढाएको देखिएन र ? सभागृहमा गर्ने कार्यक्रम सुरक्षाका कारण भन्दै सोल्टीमा गरियो, यसबाट अक्षमता देखिएन र ? असंलग्न परराष्ट्रनीतिको कुरा प्रधानमन्त्रीज्यूले गर्नुभयो । सैनिकीकरणको कुराले असंलग्न परराष्ट्र नीतिलाई बढवा दिन्छ र ?
राजेन्द्र केसी, नेपाली कांग्रेस
बिमस्टेक सम्मेलनमा विद्युत् ग्रीडमा हस्ताक्षर भएको छ । सार्क फ्रेमवर्कको सोही प्रकारको सम्झौता सन् २०१४ मा भएको थियो । यी सम्झौतामा तात्विक फरक के छ ? प्रमको समकक्षी मेदीसँग वान टू वान वार्ता भयो । नेपालमा रहेका ५ सय र हजार दरका भारतीय नोट सटही सुविधामा पनि वार्ता भयो कि ?
मीनबहादुर विश्वकर्मा, नेपाली कांग्रेस
प्रधानमन्त्रीबाट प्रस्तुत भएको सम्पूर्ण विवरणबाट बिमस्टेक अत्यन्तै सफल भएको पाइयो । असंलग्न परराष्ट्रनीति सँगसँगै क्षेत्रीय सन्तुलन र कुटनीतिको कुरा आयो । मोदी वायु सेनासहित काठमाडौं उत्रिँदा अन्य मुलुकको दृष्टिकोण कस्तो रहन्छ ? छिमेकीसँग कुटनीतिक सम्बन्ध कस्तो रहन्छ ?
दिलेन्द्र बडू, नेपाली कांग्रेस
बिमस्टेक सार्कको प्रतिस्थापन हुने हो कि भन्ने आशंका र जिज्ञासा सुनिएको हो । सार्कको गतिशीलतामा कमी र सम्मेलन आयोजनामा ढिलाइमा भइरहेको वास्तविकता कसरी बुझ्नुहुन्छ ? अध्यक्ष राष्ट्रको हैसियतले नेपालले केही प्रयास गरेको छ, यसबारे केही प्रकाश पार्नुहुन्छ कि ?
सञ्जय गौतम, नेपाली कांग्रेस
बिमस्टेक सफल बनाएकोमा प्रधामनन्त्रीज्यूलाई बधाइ । मुलुकले धेरै आशा गरेको थियो। जसरी सम्पन्न हुनुपर्थ्यो, भएन । रिट्रीट क्यान्सिल गर्नुपर्यो । सडक र शहरको दूरावस्थाले राष्ट्रिय सभागृहमा गर्न नसक्दा हाम्रो इमेज गयो । कसरी उपलब्धिपूर्ण भयो ? विद्युत् उपलब्धि प्रसारण लाइनभन्दा बाहेक सैन्य अभ्यासमा लिएर जानु र अनेक कुरा आउनुले शंका उब्जाएको छ ।
सरिता गिरी, संघीय समाजवादी फोरम
चौथो सम्मेलनको सफलताले एउटा कुरा प्रष्ट भएको छ, नेपालले क्षेत्रीय कुटनीतिमा अति नै महत्वपूर्ण सम्भावना बोकेको छ । सार्कको सफलतामा प्रश्न उठेको र सक्रियता कम भएको समयमा बिमस्टेक सम्मेलनले राम्रो सम्भावना के दिएको छ भने डिफ्रेन्ट एलाइन्स बनाएर रिजनल पोलिटिक्सलाई अगाडि बढाउनुपर्छ । नेपालले जुन डिप्लोमेसी कन्डक्ट गरेको छ, त्यसका लागि प्रम र विदेशमन्त्री लगायतको टीमलाई बधाई दिन चाहन्छु ।
मीना सुब्बा, नेपाली कांग्रेस
बेलायती राजकुमार ह्यारीले जब गोर्खा सैनिकसँग हुन्छु, संसारकै सुरक्षित स्थलमा बसेको महसुस हुन्छ, भनेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको वार्ताको सुरक्षाका लागि गोर्खा सैनिकको आवश्यकता महसुस गरिएको थियो । नेपालले भारतलाई मित्रराष्ट्र मात्र नभएर छिमेकको दाजुभाइको व्यवहार गरेको छ । भारतीय प्रम आउँदा नेपाली सेनाप्रति उपेक्षित व्यवहार किन, जवाफ पाउँ ?
महेन्द्र राय यादव, राजपा
सम्मेलन सम्पन्न गर्नुभएकोमा बधाई । वीरगञ्ज–काठमाडौं रेल्वेको जुन सम्झौता भएको छ, कहिलेसम्म काठमाडौं आउँछ रेल ? चीनसँग पनि सहमति भएको छ, दुवैमा कुन कहिले पहिला आउने हो ? नदी नियन्त्रण र चुरे संरक्षणमा कहिले कार्यानव्यन हुन्छ ? कोशीले ५ सय घर डुबानमा परेको छ, त्यो कहिले समाधान हुन्छ ?
नारायण खड्का, नेपाली कांग्रेस
शिखर सम्मेलन सम्पन्न भएको छ । सफल नभए पनि सम्पन्न भएको छ । यसको उपलब्धि र नेपालको हितको विषयमा प्रमसँग बसेर गम्भीर छलपल गर्न सकिन्छ । प्रमले भन्नुभएको छ, बिमस्टेक सार्कको विकल्पमा होइन, हुनु हुँदैन । प्रम सर्वज्ञाता हुनुहुन्छ । पाकिस्तानका नवनिर्वाचित प्रम इमरान खानभन्दा पहिलेको सरकारले ग्रेटर साउथ एसियन रिजनल एलाइन्स बनाउने कुरा गरेको थियो, चीन, इरान, अफगानलगायत देश समावेश गरेर । पूर्व भारतीय विदेश सचिव एस जयशंकरले एक कार्यक्रममा पाकिस्ताले सधैँभरी ब्लक गर्न खोज्यो, विकल्पमा बिमस्टेकलाई अगाडि बढाउँछौं भनेको सन्दर्भमा उनको त्यो कुरा आएको थियो । सार्कको सम्मेलन सफल बनाउन कत्तिको क्षमता छ, चेयर (अध्यक्ष)को हैसियतमा ?
ओलीको जवाफ –
जवाफमा प्रधानमन्त्री ओलीले बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने गरी कुनै सम्झौता नभएको प्रस्ट पार्नुभयो ।
‘बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने कुरा कतै आएको छैन । नेपाल मिलिट्री प्याक्टमा विश्वास गर्दैन र पस्दा पनि पस्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा हाम्रो कुनै सरोकार छैन ।’
उहाँले सैन्य अभ्यासको कुराप्रति पनि अनविज्ञता प्रकट गर्नुभयो ।
‘अचम्म त यो सैन्य अभ्यासको कुरा कहाँबाट आयो ? विभिन्न देशबीच सैन्य अभ्यास पहिलेदेखि नै चलेको हो,’ उहाँले भन्नुभयो, ‘ट्रेनिङका लागि हाम्रा सैनिक पनि बाहिर जाने गरेका छन् । यहाँ आएर मिलिट्रीको डिग्री लिने पनि छन् । राष्ट्रसंघीय सेनामा पठाउनुअघि पनि यस्तो अभ्यास हुन्छ । भारत, पाकिस्तान, चीन र अमेरिकासँग अभ्यास हुने गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाली सेनाप्रतिको विश्वास कामबाटै पुष्टि भएको समेत बताउनुभयो । ‘नेपाली सेनाप्रतिको विश्वास कामबाट देखिएको छ । नेपाली सेना र सुरक्षा निकायले रातदिन खटेर सुरक्षामा कुनै पनि ल्याप्सेस हुन दिएनन् । एउटा मोटरसाइकल चिप्लिएर आफैं घाइते भए । गालामा चोट लाग्यो । तर अरुलाई चोट लाग्न दिएनन् । त्यसले सुरक्षा क्षमता प्रष्ट भएन र ?’
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय सेना आएको विषयमा भने प्रस्ट जवाफ दिनुभएन ।
राष्ट्रियतालाई बचाउन आफूले खेलेको भूमिकाको स्मरण गरेको भन्दै उहाँले प्रश्न सोध्ने सांसदहरूलाई धन्यवाद पनि दिनुभयो । ‘राष्ट्रलाई बचाउने मेरो भूमिकाको स्मरण गर्नुभएकोमा धन्यवाद,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साथीहरूले चिन्ता जाहेर गर्नुभयो, तर देशको हितविपरीत कुनै कदम चालिने छैन । कुनै नीति लिइने छैन । आधारभूत नीतिविपरीत हुने कुनै काम हुँदैन ।’
प्रधानमन्त्री ओलीले बिमस्टेक सार्कको विकल्प नभएको समेत प्रस्ट पार्नुभयो ।
सभागृहमा सुविधा पुगेन, गोकर्णमा हिलो भयो
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा आवश्यक संरचनाको अभाव रहेकाले बिमस्टेक सम्मेलन सोल्टी होटलमा गर्नुपरेको जवाफ दिनुभयो ।
‘सभागृहमा धेरै कुराको समस्या छ । होल्डिङ रुमदेखि थुप्रै कुराको अभाव छ । अभाव र अस्तव्यस्तता नभएको ठाउँलाई छानियो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पशुपति हुँदाहुँदै बाटामा किन भनेजस्तो सभागृहमा पशुपति थियो बाटोमा किन किन गरेको भन्ने होइन नि !’
प्रधानमन्त्री ओलीले मौसमका कारण रिट्रीट स्थल फेर्नुपरेको पनि बताउनुभयो ।
‘जहाँ भनिएको थियो, त्यहाँ गर्न पानी परेर सम्भव भएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चौरी (चउर) हिलो भयो । हिलोमा गर्ने कुरा भएन । यही मौसममा सम्मेलन गर्नुपर्ने थियो । यसमा हाम्रो असफलता कसरी हुन्छ ?’
बिमस्टेक सम्मेलनमा सहभागी अतिविशिष्ठ पाहुनालाई गोकर्णमा दिने भनिएको रिट्रीट सोल्टीमै दिइएको थियो ।