खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन् । ‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलाग्ने गरेको उल्लेख गरे ।

उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर सुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे ।


“देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नो बारेमा केही पनि परिकल्पना थिएन,” उनले भने, “त्यसबेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पर्थ्यो । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।”