के प्रधानमन्त्रीको मिर्गौलामा फेरी समस्या देखिएको हो त ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

के प्रधानमन्त्रीको मिर्गौलामा फेरी समस्या देखिएको हो त ?



काठमाडौं- सोमबार एकाएक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर जाने खबरले तरङ्ग पिट्यो । के यो भ्रमण भनिए झैं नियमित जाँच हो या प्रमको स्वास्थ्यमा थप केही समस्या देखिएको छ ?

चिकित्सकका अनुसार, प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा ‘फङ्सन’को मात्रा बढेको छ, जसको थप परीक्षणका लागि उनी १८ साउनमा सिंगापुर जान लागेका हुन् ।

१० साउनमा काठमाडौको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो ।

सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टीको अध्यक्ष समेत रहेका प्रम ओलीले १३ साउनको पार्टी सचिवालय बैठकमा आफू सिंगापुर जान लागेको जानकारी गराएका थिए ।

“अकस्मात जस्तो देखिए पनि नियमित जाँच नगराएको लामो समय भएको र भर्खरैको ‘टेस्ट’बाट मिर्गौलाको ‘फङ्सन’ बढेको रिपोर्ट आएपछि सिंगापुर जाने निर्णय भएको हो”, प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच टोलीका एक सदस्यले भने ।

चिकित्सकहरूका अनुसार मिगौंलाको ‘फङ्सन’ बढनु भनेको मिगौंलाले काम गर्ने क्रम बढ्नु हो । रगत जाँचबाट यसबारे थाहा हुन्छ । यसको असरबारे बुझ्न बायोप्सी गर्नुपर्छ ।

पछिल्लो पटक १० साउनमै प्रम ओलीको मिर्गौलाको बायोप्सी पनि गरिएको थियो ।

१२ वर्षअघि भारतस्थित नयाँदिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रम ओलीको नियमित स्वास्थ्य जाँच स्वदेश तथा विदेशका अस्पतालहरुमा हुँदै आएको छ ।

स्वदेशमा डा. दिव्यासिंह शाहसहितका चिकित्सकहरूको टोलीको प्रत्यक्ष संलग्नतामा उपचार तथा त्रिवि शिक्षण अस्पताल, महाराजगंञ्जमार्फत नियमित स्वास्थ्य जाँच हुँदै आएको छ ।