प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी: सीमा स्तम्भ नै सारियो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी: सीमा स्तम्भ नै सारियो



काठमाडौं- भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।

यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौं बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ ।

स्थानीय वासिन्दका अनुसार यहाँको कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशी लगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।

दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा दशगजाले छुट्याउने गरेको हुन्छ । झापाको पश्चिम दक्षिण गौरीगञ्जस्थित सीमा क्षेत्रमा भने दुई देशको सीमा स्तम्भ नै आश्चर्य लाग्ने स्थानमा गाडिएको छ । झापाको एक सीमा स्तम्भ भने नेपाली बस्तीको बीचमा एक नेपालीको आँगनमा नै गाडिएको छ ।

भारतको एसएसबी हरेक महिनाको ३ पटकसम्म सीमा स्तम्भ हेर्न आउँछन् । हाम्रो देशका सुरक्षा निकायहरू वर्षौंसम्म सीमा क्षेत्रमा नआएपछि भारतीय सीमा सुरक्षा बलले नै सीमा स्तम्भ सार्ने गरेको स्थानीय बासिन्दाको अनुभव छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा सीमा स्तम्भ गाडिएको छ । पहिला यो क्षेत्र नेपालकै थियो । भारतको सीमा सुरक्षा बलले एसएसबीले २०५५ सालमा यो सीमा स्तम्भ निर्माण गरेको हेमरमले बताए । यो नै हाम्रो देशको सिमाना हो भनेर चाहिँ आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । ‘शुरूमा यो स्तम्भ सानो थियो पछि २०७४ सालमा बाढी आएपछि हामी राहत लिन बजार गएका थियौं त्यहाँबाट फर्कंदा यो स्तम्भ ठूलो आकारमा देखेका हौं । हामीले सामान्य केही किला वा कुनै ठूलो ढुङ्गामा रङ लगाएको वस्तु मात्र सम्झेका थियौं,’ उनले भने ।

गौरीगञ्जको पिण्डालघुटुमा मात्र होइन त्यहाँदेखि करिब एक किलोमिटर पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जङ्गे पिल्लर नेपाली भूमिमा सारिएको छ । स्तम्भ नम्बर २६ लेखिएको सो स्तम्भ भएको ठाउँ नेपाली भूमि भएको तर अहिले यहाँ भारतीय नागरिकले कब्जा गरेर खेती गर्न शुरू गरेको स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका जेठा मुर्मुले बताए ।

२०५५ सालअघिसम्म कमल खोलाको पूर्वी किनारबाट शुरू हुने नेपाल भारतको सिमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पुर्‍याइएको छ । मुर्मका अनुसार २०५५ सालअघिसम्म नेपाल भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट बजार लाग्ने गथ्र्याे । पछि त्यही हाटको विषयमा नेपाल र भारत पक्षका स्थानीयहरू बीच विवाद सुरु भएपछि भारत पक्षले सो सिमाना पश्चिम सारेको हो ।

स्थानीय ओमप्रकाश राजवंशीका अनुसारले भने, ‘विवादपछि त्यही समयमा नेपाल र भारतीय पक्षले सीमा नापजाँच गरेका थिए । त्यसपछि भारतीय पक्षले रातारात नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएको पाइएपछि सिमाना पश्चिम सारेको थियो ।’

नेपाली भू–भाग मिचेर सीमा पश्चिम सारेपछि यसैलाई आधार बनाएर भारतीयहरूले अहिले नयाँ सीमा स्तम्भ वरिपरि दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् । साबिकको आमगाँछी–४ को खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकै खेती गरिरहेको राजवंशीको भनाइ छ ।