प्रधानमन्त्रीकै मुखबाट झुट, अरूलाई दोष र गल्ती स्वीकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीकै मुखबाट झुट, अरूलाई दोष र गल्ती स्वीकार



काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तरकारी तथा फलफूलको विषादी परीक्षणमा भारतले दिएको दबाब स्वीकार गरेका छन् । उनले भारतबाट पत्र नआएको भनेको प्रसङ्गमा गल्ती स्वीकार गर्दै पत्र आएको बताएका छन् ।

भारतबाट नेपाल आउने तरकारी तथा फलफूल सीमा क्षेत्रमा परीक्षण गरेर मात्रै स्वेदश भित्राउने निर्णय गरेकोमा भारतका तर्फबाट पत्र आएपछि सरकारले खुला गरेको थियो ।

यसै प्रसङ्गमा नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले के को पत्र ? कस्तो पत्र भन्दै त्यस्तो पत्र नआएको बताएका थिए । तर, सञ्चार माध्यममा नै भारतको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीले बुधबार राति भुल भएको स्वीकार गरेका हुन् ।

नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”

प्रधानमन्त्रीले आफूले प्रधानमन्त्रीको हिसाबले जानकारी पाउनुपर्थ्यो तर जानेर वा नजानेर जानकारी नदिइएको समेत गुनासो गरेका छन् । उनले एउटा यथार्थ आफूबाट लुकेको रहेछ भन्दै आफूले आएको छैन भन्दा जनतामा भ्रम पर्ने अवस्था उत्पन्न भएको र विरोधीले प्रचार गर्ने अवसर पाएको समेत जनाए ।
प्रधानमन्त्रीले सीमा क्षेत्रमा परीक्षणका लागि आवश्यक जनशक्ति र साधन नभएकाले अहिलेलाई स्थगन गरिएको बताउँदै यो कदम कुनै देश लक्षित नभएको समेत जनाए ।

उनले भारतका राजदूततर्फ सङ्केत गर्दै राजदूतबाट नै भित्रभित्रै कुरा भएको पछि थाहा पाएको तर आफूले बोलेको बेलामा जानकारी नभएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको पछिल्लो भनाइले यति गम्भीर कुरा पनि कसले प्रधानमन्त्रीलाई लुकाइरहेको रहेछ र कसरी मुलुकमा भएका यति गम्भीर मामिलामा समेत प्रधानमन्त्री नै जानकार नहुने अवस्था सिर्जना भइरहेको छ भन्ने प्रश्न भने उब्जिन पुगेको छ । उनले पहिला चाहिँ अमृत नै अमृत आउँथ्यो भने जस्तो गरेर अहिले चिकित्सक संघदेखि विभिन्न संघ संस्थाले आलोचना गरिरहेको बताउँदै यो विषयमा सीमा क्षेत्रमा परीक्षण गर्नुपर्छ भनेर आफूले नै कुरा सुरु गरेको बताए ।

जनशक्ति र सो सम्बन्धी यन्त्र नभएको र त्यसको तयारी गर्नुपर्ने भएकोले अहिलेलाई परीक्षण गर्न नपाइएको जनाए । पहिला परीक्षण नगरी तरकारी रोक्नुमा भने मन्त्रालयले अनुपयुक्त सूचना र त्यहीअनुसार प्रस्ताव ल्याएको र अलिकति झुक्किएको बताएका थिए ।

उनले भारत तर्फ संकेत गर्दै कुनै देशलाई मात्रै लक्षित गरेर यो प्रक्रिया नचालिएको उल्लेख गर्दै थाइल्याण्ड, बङ्गलादेश, अमेरिका, ब्राजिल लगायतका सबै राष्ट्रबाट आउने सामानको परीक्षण हुने जनाए उनले अहिले विष भित्र्याउन लागेको भनेर आफ्नो आलोचना गर्दै कोही राष्ट्रवादी पल्टिन खोजेपनि अहिलेकै सरकारले विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ)लाई पत्र पठाएर सबै सदस्य राष्ट्रलाई परीक्षण सम्बन्धी विषयमा भन्न आग्रह गरेको जनाएका छन् ।

उनले जहाँबाट आउने हो त्यता नै परीक्षण गरेको प्रमाणपत्र लिएर आएमा दोहोरो जाँच नगरिने उल्लेख गर्दै सीमा क्षेत्रमा अहिले नजाँचिए पनि भित्रिइसकेपछि पनि जाँच्‍न सकिने उल्लेख गरे ।

आलोचना सुन्न नसक्ने आरोपको खण्डन 

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले आलोचना ग्रहण गर्ने गरेको समेत बताएका छन् । उनले आलोचनालाई विभिन्न भागमा बाँडेर हेर्ने चर्चा गर्दै देश र जनताको हितको पक्षमा भए ग्रहण गर्ने, सम्मान गर्ने र भ्रममात्रै छर्ने खालको भए आफूले जबाफ दिने गरेको समेत बताएका छन् । आलोचना भएपछि आफूले कुनै सदाशयतापूर्वक नै आलोचना गरिएको छ भने खोज्‍ने र ग्रहण गर्ने उल्लेख गर्दै तर सङ्कीर्ण खालका छन् र जनतालाई भ्रम फैलाउने खालका छन् भने आफूले जबाफ दिने गरेको जनाए ।

उनले प्राचीन एथेन्सको प्रसङ्ग झिक्दै त्यहाँका शासकले अरस्तुले भ्रम फैलाएको भनेर त्यहाँका जनतालाई विष खुवाएर मार्न भनेको र मर्ने बेलामा अरस्तुले जनतालाई म त बूढो मान्छे मर्छु तर तिमीहरूले म मरेपछि चाल पाउँछौं भनेको चर्चा गरेका थिए । उनको भनाई थियो, ‘‘इतिहासमा यस्तो पनि हुन्छ ।’’
त्यसैले नेपालमा पनि त्यस्तो भ्रम नफैलियोस् भनेर आफूले भ्रमको गाँजाघारी र अफिमको घारी फाँड्ने गरेको जनाए ।

छुट्टै सोफामा विराजमान प्रसङ्ग 

हालै राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री अरू भन्दा अगाडि छुट्टै कुर्सीमा बसेको भनेर आलोचना भएको प्रसङ्गमा उनले घुमाउरो जबाफ दिएका थिए । उनले दुई खालको भाव हुने चर्चा गर्दै एउटा देश र जनताको लागि सोच्‍ने भाव र अर्को आफ्नै बारेमा मात्रै सोच्‍ने आत्मकेन्द्रित भाव हुने गरेको र आफू देश र जनताको लागि समर्पित रहेको बताए ।

आफूले रमाइलो गर्ने समय नपाएको चर्चा गर्दै प्रधानमन्त्रीले त्यसो गर्न पनि नखोजेको जनाए । उनले आफूले जे बोल्छु, जे लेख्छु र जे हेर्छु सबै कामको हिसाबले नै गर्ने गरेको बताए । आफू पारदर्शी र सार्वजनिक भएको र जे गर्दा पनि देश, जनता र सम्पूर्ण मानवजातिका लागि काम गरेको चर्चा गरेका थिए ।