अचानक स्वास्थ्यमा सुधार, प्रधामन्त्री उत्साहित - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

अचानक स्वास्थ्यमा सुधार, प्रधामन्त्री उत्साहित



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ।

अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए।

दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नु नपरेको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

उपचारमा संलग्न चिकित्सकहरूले अहिले उनको स्वास्थ्य अवस्था ‘ठीकठाक’ रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिलीप शर्माले भने।

डा.शर्माका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि तत्कालका लागि डायलसिस गर्दै अघि बढ्ने कुरा भएको जनाएको छ । ‘प्रधानमन्त्री ओलीलाई मैले मंगलबार साँझ भेटें । अहिले नियमितभन्दा पनि आवश्यक परेका बेला मात्रै डायलसिस गर्नुपर्ने सुझाव डाक्टरहरूले दिएका रहेछन्,’ नेकपाका एक स्थायी समिति सदस्यले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको नियमित ‘फलोअप’ गर्न डाक्टरहरूको निगरानी बढाइएको छ । ‘एक जना डाक्टर स्ट्यान्डबाई हुनुहुन्छ,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने।

उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेकाले बालुवाटरमै डायलसिस मेसिन पनि तत्काल जडान गरिने छैन।

‘नियमित डायलसिस गर्नुपर्ने भए बालुवाटरमै मेसिन राख्ने कुरा भएको थियो । तर आवश्यक परेकाबेला अस्पतालमै जाने कुरा भएको छ,’ उनले भने।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत साता उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल गएका थिए।

गत बुधबार र बिहीबार दुईपटक डायलसिस गरेर उनी निवास फर्किएका थिए । शुक्रबार दिनभर आराम गरेका ओली शनिबारदेखि सक्रिय भए । उनले शनिबार बिहान नेकपा सचिवालय बैठक बोलाएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

‘एक्सरे गर्दा फोक्सोको पानी सुकेको रिपोर्ट आएपछि आफ्नो स्वास्थ्यलाई लिएर उहाँ केही उत्साहित हुनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

त्यही रिपोर्ट र प्रधानमन्त्रीको स्वास्थ्य उपचारका अन्य रिपोर्ट पनि हेरेपछि डाक्टरले तत्कालका लागि आवश्यक परेका बेला मात्रै डायलसिस गरे पुग्ने निष्कर्ष निकालेका हुन्।