प्रधानमन्त्री ज्यु जनता बस्ने कुर्सीबाट जुम्रा सर्‍यो भने...?’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री ज्यु जनता बस्ने कुर्सीबाट जुम्रा सर्‍यो भने…?’



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार परिवारसहित नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न पुगे। फागु पूर्णिमाको सन्दर्भ पारेर प्रधानमन्त्री ओली पीता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यका साथ ‘क्याप्टेन’ हेर्न कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेका हुन्।

बुधबार साँझ प्रधानमन्त्री ओली उक्त चलचित्र हेर्न पुग्दा हल सफा पारिएको थियो। हल दर्शकले भरिभराउ थियो। बस्ने सिटहरु पनि सफा र चिटिक्क पारिएका थिए। हलमा सबै सिट रातो कभरले छोपिएका थिए। तर, दुई सिट मात्र सेतो कभरले छोपिएका थिए।

प्रधानमन्त्री ओली आए र त्यही सेता सिटमा बसे। अर्को प्रधानमन्त्री छेउकै बाँया पट्टीको सेतो सिटमा बसिन प्रधानमन्त्री पत्नी राधिका। ओलीको दाया पट्टीको साधारण सिटमा बसे ओली पिता मोहन प्रसाद। प्रधानमन्त्रीले हलमा साधारण सदस्यले झै फिल्म हेरेको भए जनतालाई अपनत्व भान हुने थियो। उनको यस्तो तरिका देखेर अहिले सामाजिक सञ्जालमा विरोधसमेत हुन थालेको छ।

राम लोहनी नामका फेसबुक प्रयोग कर्ताले प्रधानमन्त्री ओलीको यो तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, ‘यो देसाँ जे गर्छन् हनुमानले गर्छन्। गर्नु पर्ने, गर्नु नपर्ने, जे गर्दा चाकरी पुग्छ ती सबै गर्छन्। हलमै फिल्म हेर्न भनेर पुगेपछि जे जस्तो सिट छ, त्यसैमा बस्थे होलान् नि प्रधानमन्त्री दम्पति! तर सिटमाथि सेतो टालो ओछ्याइयो। यो किनभने प्रजा बसेको, बस्‍ने सिटमा कामरेड अध्यक्ष तथा प्रधानमन्त्री बस्‍न सुहाउँछ? प्रजाको जुम्रा सर्‍यो भने? मयल सर्‍यो भने? किटाणु सङ्क्रमण भयो भने?
यस प्रकारको कुपमण्डुकताप्रति मेरो घोर वितृष्णा छ।’ अन्य थुप्रे सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले यो कदमको विरोध जनाएका छन्।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ।

एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामथ्र्य बढाउन पनि आवश्यक रहेको देखाएको छ। मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ।