भैरहवा मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

भैरहवा मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ



काठमाडौं– रुपेन्देहीको भैरहवास्थित जिल्ला मालपोत कार्यालयको तामेली शाखामा कार्यरत कार्यालय सहयोग (पियन) २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालयका सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी गर्नका लागि पियन जोगेन्द्र प्रसाद चौधरीले २० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयमा चौधरीले घुस मागे गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा चौधरी बुधबार घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।