पेप्सी उत्पादक वरुण वेभरेजविरुद्ध झन्डै दुई अर्ब बराबरको मुद्दा
काठमाडौं- राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत् गएपश्चात् मात्र विभागले राजस्व चुहावटसम्बन्धी १२ अर्ब ३१ करोड रुपैयाँ बराबरको बिगो माग–दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।
विभागले यस अवधिमा राष्ट्रसेवक कर्मचारी ८ जनासहित ५१५ जनालाई प्रतिवादी गराइ राजस्व छलीको मुद्दा दायर गरेको जनाएको हो ।
विभागले यस अवधिमा विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारको कसुरमा चार अर्ब ८३ करोड बिगो माग–दाबी कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद माग–दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २८ ओटा मुद्दामा ७६ जनाविरुद्ध राजस्व चुहावटको कसुरमा तीन अर्ब ४३ करोड बिगो र बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद माग–दाबीसहित मुद्दा दायर गरेको छ ।
यस अवधिमा झुटा बिल विजक जारी गर्ने १३० फर्मविरुद्ध ६ अर्ब बढी बिगो माग–दाबीसहित मुद्दा दायर गरेको पनि विभागले जनाएको छ ।
वरुण वेभरेजविरुद्ध मुद्दा
यस्तै, विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकको प्रयोग गर्ने पेप्सी उत्पादक वरुण वेभरेज नेपाल प्रालि र यसका पूर्व तथा वर्तमान सन्चालकहरु अमित गुप्तासमेत सातजनालाई बिगो तथा बिगोको दोब्बरसमेत गरी एक अर्ब ९४ करोडसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग–दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
वेभरेजले नक्कली बिल विजकको कारोबार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविक मालवस्तु खरिद नै नगरी नक्कली तथा झुटा कर विजक खरिद गरी राजस्व चुहावट गरेको विभागको आरोप छ ।
विभागले गएको साउनबाट लागु गरेको ‘भीसीटीएस’मा दैनिक १६ हजार बढी प्रविष्टि हुने गरेको जनाएको छ । यस अवधिमा ६४ हजार बढी प्रयोगकर्ता पुगिसकेको पनि विभागले जनाएको छ