कति धेरै पेनाल्टी ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कति धेरै पेनाल्टी ?



रुसमा जारी विश्वकप फुटबलमा धेरै कमजोर भनिएका टिमले बलिया टिमलाई धेरै खेलमा अप्ठ्यारोमा पार्दै आएका छन् । यो विश्वकपको अर्को विशेषता भनेको ‘पेनाल्टीको आँधी’ हो । जारी विश्वकपमा समूह चरणका २० खेल भएका छन् र अहिलेसम्म १० वटा पेनाल्टी प्रहार भएका छन् ।

विश्वकपमा पेनाल्टीको इतिहास भनेको १८ हो । सन् १९९८ को विश्वकपका सबै खेलमा गरेर १८ पटक पेनाल्टी प्रहार भएको थियो । यस्तै सन् १९९० र सन् २००२ को विश्वकपमा पनि १८ पटक पेनाल्टी प्रहार भएको थियो ।

तर यो विश्वकपमा त्यो कीर्तिमान भंग हुने जस्तो देखिएको छ । सुरुका २० खेलमा १० पेनाल्टी प्रहार भएको र यहि दरमा पेनाल्टी प्रदान गर्नु पर्ने हो भने रुस विश्वकपमा पेनाल्टीको संख्या ३० भन्दा माथि हुनेछ ।

रुस विश्वकपमा अहिलेसम्म प्रहार भएका १० पेनाल्टी मध्ये ८ वटा गोलमा परिणत भएका छन् । अहिलेसम्म रुसमा पेनालटी प्रहार गर्ने मध्ये पेरुका क्रिष्टियन कुएभा र अर्जेन्टिनाका लियोनल मेस्सीले मात्रै पेनाल्टीमा गोल गर्न सकेनन् ।

योसँगै अहिलेसम्म विश्वकपमा ४५ पटक पेनाल्टीमा गोल हुन सकेको छैन । २७ पटक गोलरक्षकले बचाएका छन् भने १८ पटक पेनाल्टी प्रहार गर्नेले सही दिशा दिन सकेका छैनन् ।

दुई फरक विश्वकपमा पेनाल्टीमा गोल गर्ने खेलाडीको संख्या ११ छ । त्यसमध्ये एक हुन् पोर्चुगलका क्रिष्टियानो रोनाल्डो । उनले यो विश्वकपमा स्पेनसँगको खेलमा पेनाल्टीमा गोल गरेका थिए । उनले सन् २००६ को विश्वकपमा इरान विरुद्धको खेलमा पेनाल्टीमा गोल गरेका थिए ।

विश्वकपको इतिहासमा १००० औँ गोल पनि पेनाल्टी मार्फत नै भएको छ । सन् १९७८ को विश्वकपमा नेदरल्याण्डसका रोब रेन्सेन्ब्रिन्कले स्कट्ल्याण्ड विरुद्ध पेनाल्टी मार्फत गरेको गोल विश्वकपको इतिहासमा १००० औँ गोल थियो ।

अहिलेसम्म पाँचवटा विश्वकप यस्ता छन्, जसमा सबै पेनाल्टीमा गोल भएको छ । जसमा सन् १९९४ को विश्वकपमा महत्वपूर्ण छ । त्यसबेला १५ पेनाल्टी प्रदान भएकोमा सबै गोलमा परिणत भएका थिए ।

विश्वकपमा दुईवटा पेनाल्टी बचाउ गर्ने गोलरक्षक मात्रै तीनजना छन् । त्यसमा ज्यान थोमस्जेवस्की, ब्राड फ्रिइडेल र इकर कासिलास हुन् । यो विश्वकपमा आइसल्याण्डका हान्स हाल्लडोर्सनले एउटा पेनाल्टी जोगाइसकेका छन् ।

अहिलेसम्म विश्वकपमा २२८ पेनाल्टी प्रहार भएका छन् । यसमा १८३ पटक गोल भएको छ ।