पवन गोल्यान भन्छन्- कुनैपनि देश वा कम्पनीका मेरुदण्ड कर्मचारी नै हुन् - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

पवन गोल्यान भन्छन्- कुनैपनि देश वा कम्पनीका मेरुदण्ड कर्मचारी नै हुन्



एनएमबी बैंक तथा गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले समृद्धिको यात्रा एक-एकजना व्यक्तिबाट नै सुरू हुने बताएका छन् । चैतन्यको आयोजनामा शनिबारदेखि धुलिखेलमा आयोजना गरेको ‘सुशासन र समृद्धि’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै गोल्यानले ठूला-ठूला योजना एक जना व्यक्तिको कामले फरक पार्ने बताए ।

दोस्रो दिनको पाँचौं सेसनमा बोल्दै गोल्यान गोल्यान समूह र एनएमबी बैंक सफल हुनुमा कर्मचारीकै कारण सफल हुनसकेको बताए । कर्मचारी भनेको कुनैपनि देश र कम्पनीका लागि मेरुदण्ड भएको उनको तर्क छ । ‘गोल्यान समूह सफल हुनुमा कर्मचारीको ठूलो हात छ, हामी सफल हुनुको प्रमुख कारण सुशासन नै हो, हामीले गरेका सबै योजनामा कर्मचारीको पूरा सहयोग छ । त्यसैले कर्मचारीले चाहेको खण्डमा देश पनि समृद्ध बन्न सक्छ,’ उनले भने ।

गोल्यानले सिंगापुर लगायत तरक्की गरेका देशहरू एक जनाकै कारणले बन्न सम्भव भएकाले हामीले ‘म एक जनाले के गर्न सक्छु र ?’ भन्ने भावना त्याग्नुपर्ने बताए । एक जनाको हिम्मतका कारण धेरै कुरा सम्भव बहेको उनले बताए ।

नेपालमा कृषि पेशा ‘व्यावसाय’ बन्न नसकेको उनको गुनासो छ । ‘हाम्रा आफ्नै कारण र सरकारका कतिपय प्रावधानका कारण हामीले कृषिलाई व्यावसाय बनाउन सकेका छैनौँ, तर अब हामी सबैले यसबारे सोच्नुपर्छ, कर्मचारीले पनि खाली समयमा कृषिलाई अपनाउने हो भने यसले पनि फरक पार्छ ‘ उनी भन्छन् ।

उनले कृषिका लागि स्थानीय तहहरूले नयाँ तरिकाले सोच्नुपर्ने बेला भएको बताए । अहिले देशको सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार नै भएकाले हिम्मत गरेर लाग्नुपर्ने उनको भनाई छ ।

कुनैपनि कृषियोग्य जमिन बाँझो रहन नहुने भन्दै उनले सबैलाई कृषि कर्ममा जोडिनको लागि आग्रह गरे । साथसाथै उनले यसरी लागेको खण्डमा नेपाल ३ महिनाभित्र तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए ।

गोल्यानले हामी सबैले नेपाली उत्पादन प्रयोग गरेमात्रै काम गर्नेहरूलाई पनि प्रेरणा मिल्ने बताए । ‘पहिले त चलन थियो, अहिले सबै हट्यो । सरकारी कार्यालय टिप्पणी उठाउन नेपाली कागजको प्रयोग अनिवार्य थियो, अहिले त्यो सिस्टम हट्यो । मैले त के सुन्दै छु भने अब त लालपूर्जा पनि नेपाली कागजमा नबन्ने भयो रे, यसरी चाहिं हुँदैन, उनले भने । सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग अनिवार्य गराउनुपर्ने उनको तर्क थियो ।

यस्तै फलफुलदेखि तरकारीसम्म नेपाली मात्रै प्रयोग गर्नुपर्ने उनी बताउँछन् । उनले बासमती चामल खाने, अमेरिकाको किवी खाने, भारतीय फलफुल खानेहरूले नेपाली कृषि प्रवर्दनको कुरा गर्ने गरेको बताए । सबै नेपालीले नेपाली उत्पादन मात्रै प्रयोग गर्न थाल्नेहो भने कृषि कार्यमा लाग्नेलाई पनि प्रोत्साहन हुने उनको तर्क छ ।

उनले कालिमाटीको तरकारी बजारको प्रसङ्ग जोड्दै भारतीय कागती ८० रुपैयाँमा खरिद गर्ने व्यापारीले नेपाली कागती ५० रुपैयाँमा पनि खरिद गर्न आनाकानी गर्नेगरेको गुनासो गरे ।