चितवनमा महाधिवेशन होइन, 'बा'को पाउमा तेल दल्ने कम्पिटिशन भएको छ: गगन थापा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

चितवनमा महाधिवेशन होइन, ‘बा’को पाउमा तेल दल्ने कम्पिटिशन भएको छ: गगन थापा



काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चितवनमा चलिरहेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनलाई ‘ ओलीको पाउमा तेल दल्ने प्रतिस्पर्धा’ को संज्ञा दिएका छन्।

कांग्रेसको काठमाडौं जिल्ला सभापति पदमा कृष्ण बानियाँले उम्मेदवारी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले एमालेको अधिवेशन भन्न नमिल्ने जिकिर गरे। “त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन्। त्यहाँ सबै बा! बा! मात्रै भन्छन्,” थापाले भने, “नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।”

शुक्रबार आफ्नो टोलका बासिन्दाले एमाले अधिवेशनका विषयमा सोधेको उल्लेख गर्दै चितवमा चलिरहेको ‘ओलीवेशन’ जस्तो नभएर अधिवेशन चलिरहेकाले प्रतिस्पर्धा भइरहेको जिकिर गरे। “हिजो मेरो टोलका अभिभावकले सोध्नुभयो, एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन। आज नारायणी किनारमा कति ठूलो सभा भयो। अधिवेशन त यस्तो पो हुनुपर्छ, तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै-लफडा छ,” थापाले सुनाए।

त्यसमा आफूले दिएको जवाफ पनि थापाले कार्यक्रममा सुनाए। “एमाले र हामीहरूबीचमा अलिकति फरक छ। हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो। अधिवेशन र ओलीवेशनमा फरक छ,” थापाले भने, “हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन्। स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुन सक्छ। तर, ओलीवेशनमा कोही पनि स्वतन्त्र कार्यकर्ता छैन।”

चितवनमा जारी एमाले राष्ट्रिय महाधिवेशनमा सहमतिका लागि प्रयास भइरहेको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठकले पदाधिकारी पढाउने निर्णय गरिसकेको छ।

उनले नआत्तिएर अधिवेशनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। पार्टी अधिवेशनमा मतभेद र मतान्तर हुने उनको भनाइ थियो। “हामीबीच मतभेद हुन्छ, मतान्तर हुन्छ। त्यही बीचबाट हामी कुशल नेतृत्व चयन गर्छौं। त्यसैले कांग्रेसमा यसलाई सामान्य रूपमा लिनुपर्छ। यो हाम्रो पार्टीभित्रको लोकतान्त्रिक अभ्यास हो,” थापाले भने।

कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँले उम्मेदवारी घोषणा गरेका छन्। कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह पनि सहभागी थिए।