मध्यरातमा कोठामा पसेको पल शाहले स्वीकारे: १४ वर्षको कैद र क्षतिपूर्ति माग - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

मध्यरातमा कोठामा पसेको पल शाहले स्वीकारे: १४ वर्षको कैद र क्षतिपूर्ति माग



काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको र जोशीले मतियारको भूमिका निर्वाह गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो।

पीडित १६ वर्षभन्दा कम उमेरकी भएकाले पलमाथि १२ देखि १४ वर्षसम्मको कैद सजाय र क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता गरिएको जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए। ‘त्यस्तै निजका सहयोगी कृष्ण जोशीले मतियारको भूमिका निर्वाह गरेको देखिएकाले उनीमाथि आधा सजायको माग गरेका छौं,’ उनले भने।

अदालतमा पेस गरिएको अभियोगपत्र अध्ययन गर्दा घटनास्थल भनिएको तनहुँ दुलेगैँडास्थित प्रदीप थापाको घरमा राति बास बस्दा पीडितको कोठामा आफू गएको उनले स्वीकार गरेका छन्। तर, करणी गरेको भनेको स्वीकारेका छैनन्। ‘राति अन्दाजी ११:४५ बजेतिर खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र बसी बियर खान दिई फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ।’

यस्तो छ पलको बयान
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएको छु। सोही क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीयासँग गत असोज २२ गते काठमाडौं साँखुमा भेट भई चिनजान भएर फोन नम्बर आदान–प्रदान भएको थियो। हामीहरूबीच फोन तथा म्यासेन्जरमा कुरा हुने गर्थ्यो।

म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गई बस्ने गरेका थियौं। गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गरेका थियौं। राति अन्दाजी ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित भनिएकी नाबालिग सुतेको कोठामा गई ढोका धकेली भित्र पसी बियर खान दिई फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ।

पीडित भनिएकी नबालिकाले ०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए। मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो। तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्द म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्। त्यसपछि ०७८ सालको असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो म्यानेजर कृष्ण जोशी र मसमेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो।

पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेन्ड-ब्वाई फ्रेन्डबीच हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।