पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेश थापासहित चार जनाको नाम - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेश थापासहित चार जनाको नाम



एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् ।

‘ममाथि लगाइएको ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’ पलले लेखेका छन् ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबरजस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडीदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ पलले फेसबुकमा लेखेका छन् ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत विभिन्‍न सुन्‍नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँलाइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्‍न तयार छु ।’

पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।