पत्रकारको चुनावमा दलीय प्रतिस्पर्धा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पत्रकारको चुनावमा दलीय प्रतिस्पर्धा



काठमाडौं :

व्यावसायिक र निष्पक्ष पत्रकारिताको माला जपे पनि नेपाल पत्रकार महासंघ अन्ततः दलीय प्रतिस्पर्धाको थलो बनेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयनजस्तो नभई दलीय कार्यकर्ताबीचको चुनावी भिडन्तजस्तो देखिएको छ ।

पत्रकार दुई प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रनिकट प्रेस युनियन र प्रेस सेन्टरबीचको गठबन्धनको एउटा प्यानल छ भने विपक्षमा एमाले समर्थित प्रेस चौतारीको प्यानल छ ।

प्रेस चौतारी नेपालले थाहाखबर अनलाइनका सम्पादक तीर्थ कोइरालाको नेतृत्वमा प्यानल खडा गरेको छ । उनको समूहलाई संघीय प्रेस फोरम, मधेसी पत्रकार समाज र र नेपाल प्रेस सोसाइटीले समर्थन दिएको छ । यी संस्थाबीच पदाधिकारी तथा सदस्यको भागबन्डा गरिएर प्यानल बनेको हो ।
कांग्रेस समर्थित पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरको गठबन्धनले गोविन्द आचार्य नेतृत्वमा प्यानल बनाएको छ । महासंघका पूर्वउपाध्यक्ष आचार्य माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत हुन् ।

दुवै प्यानल राजनीतिक आड र आग्रहमा चुनावी प्रतिस्पर्धामा उत्रिए पनि प्रज्ञा प्रतिष्ठानको चुनावी माहौलमा प्रदर्शित-वितरित प्रचार सामग्रीमा श्रमजीवी पत्रकारको हकहित, व्यावसायिक पत्रकारिता, राजनीतिक हस्तक्षेपबाट मुक्ति, सञ्चारकर्मीको क्षमता अभिवृद्धिलगायत शब्दावली प्रयोगमा कुनै कमी देखिँदैन ।

राज्यको चौथो अंग पत्रकारितामा यो हदसम्मको राजनीतिकरण हुनुलाई विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका सहप्राध्यापक लालदेउसा राईले पत्रकार राजनीतिक प्यानल बनाएर चुनावमा उत्रनु व्यावसायिक पत्रकारिताका लागि घातक रहेको बताए । उनले भने, ‘यसले दलगत पत्रकारितालाई मात्र फाइदा गर्छ । अहिले मुलुकमा दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने सञ्चारकर्मीको आवश्यकता छ ।’

राजनीतिक प्यानल बनाएर पत्रकारको चुनाव हुन लागेकाप्रति कटाक्ष गर्दै सञ्चार विश्लेषक भानुभक्त आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव जितेपछि राजनीतिक दलका नेताको घरघरमै जाने र आशीर्वाद थाप्ने गतिविधि विगतमा भएका छन् । स्वतन्त्र प्रेसका लागि यो जायज छ ? अब यस्तो हुन्छ कि हुन्न ? यसलाई कसरी रोक्ने ? ’

चौतारी प्यानलतर्फ अध्यक्षका उम्मेदवार तीर्थ कोइरालाले चुनावका लागि विभिन्न समूह मिलेर प्यानल खडा गरे पनि राजनीतिक रूपमा एक भएको भनेर बुझ्न नहुने बताए । ‘पत्रकारका पेसागत सुरक्षाका लागि पत्रकार नै एक हुनु कुनै नौलो होइन । हाम्रो एकता पत्रकारको पेसागत सुरक्षाका लागि मात्र हो’, उनले भने ।

अध्यक्षका अर्का उम्मेदवार आचार्यले अनुभवी व्यक्तिको नेतृत्व स्थापित गर्न आफूहरूले प्यानल बनाएको दाबी गरे । ‘हामीसँग विगतमा महासंघमा बसेर काम गरिसकेका व्यक्तिहरूको समूह छ । यो समूहलाई यो र त्यो पार्टीको भन्दा पनि महासंघका लागि उपयुक्त नेतृत्व भनेर बुझ्नुपर्छ’, आचार्यले भने ।

चुनावका आकांक्षीहरूले अझै व्यावसायिकताको नारा उठाइरहे पनि प्यानल निर्माण र उम्मेदवार चयनका क्रममा प्रमुख दलका शीर्ष नेताकै संलग्नता रहेको देखिएको छ । युनियन-सेन्टरको गठबन्धनमा भागबन्डा मिलाउन, चौतारी प्यानल बनाउँदा असन्तुष्टलाई सम्झाएर फिर्ता पठाउन शीर्ष नेताको भूमिका खोजी भएको थियो ।

सञ्चारकर्मीको चुनाव सरगर्मीबारे जानकार सर्वसाधारण पनि दलीय रंगमा गएको यस्तो प्रतिस्पर्धालाई सुहाउँदो मान्दैनन् । पुतलीसडकमा टेक्नोजोन इन्टरनेसनल नामक इलेक्ट्रोनिक स्टोर सञ्चालन गरिरहेका चन्द्र क्षत्रीले भने, ‘पत्रकारलाई विश्वास नगरे कसलाई गर्ने ? तिनै पत्रकारले दलको छाता ओढेपछि विश्वास गर्न पनि कठिन छ ।’
विजयकुमार पुरस्कृत

नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार महासंघको २५ औं महाधिवेशन उद्घाटन सत्रमा पाण्डेलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

पाण्डेले पुरस्कारको केही रकम तराईका बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । महासंघले यसै वर्षदेखि सुरु गरेकोे गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ । कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

२५ हजार रुपैयाँ राशिको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार पुष्कर थापालाई (मरणोपरान्त) तथा उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सीमा सिंह शर्मालाई प्रदान गरिएको छ ।कार्यक्रममा महासंघका विभिन्न शाखाले तराईका बाढीपीडितका लागि संकलन गरेको राहत सामग्री हस्तान्तरण गरेका थिए ।उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘मुलुकमा प्रशस्त सञ्चारमाध्यम छन् । यी सञ्चारमाध्यम कसरी सञ्चालन भइरहेका छन् भन्नेमा म आफैंले बुझ्न सकेको छैन । तैपनि, मुलुक विकासमा सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ ।’ सोमबारसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

अन्नपुर्णपोष्टमा खबर छ ।