रामदेव र उपेन्द्र महतोबीच लफडा ! पतञ्जली के होला नेपालमा ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रामदेव र उपेन्द्र महतोबीच लफडा ! पतञ्जली के होला नेपालमा ?



एक लाख परिवारलाई रोजगारी दिने भन्दै वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसंग फाटो आएको छ । यससँग विवाद भएपछि रामदेवको पतञ्जली आयुर्वेद प्रालि संकटमा फसेको हो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भारतीय योगगुरु बाबा रामदेवसँग मिलेर गत मंसिरमा वीरगञ्ज पथलैया सडक खण्डको प्रसौनीमा पतञ्जली आयुर्वेद प्रालि खोलेका थिए । उद्योगमा डेढ अर्ब लगानी थियो ।

तर, उद्योग खोलेको केही समयमा नै महतो र बाबा रामदेवको सम्वन्धमा फाटो आएको हो ।

रामदेवको तर्फबाट राखिएका आरके शर्मा लगायतका कर्मचारीले उद्योग छाडेका छन् । होलीलगत्तै उनीहरु बाहिरिएपछि भारतको पतञ्जलीले नयाँ कर्मचारी पठाएको छैन । नेपाली व्यवस्थापक र कर्मचारीले नै उद्योग जेनतेन चलाइरहेका छन् ।

कुल ९ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उद्योगको २४ नोभेम्बर २०१६ मा बाबा रामदेवसमेतको उपस्थितमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन समारोहमा योगगुरु बाबा रामदेवले एक वर्षभित्रै पतञ्जली उद्योगमा दुई हजारले रोजगारी पाउने र पाँच/सात वर्षभित्र पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने आश्वासन दिएका थिए ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी जडिबुटी खेतीबाट एक लाख परिवारलाई रोजगारी दिने रामदेवको दाबी थियो ।

उद्योगले साबुन, सेम्पुदेखि औषधिसम्म गरेर सय बढी प्रकारका आर्युवेदिक सामान उत्पादन थालेको थियो । तर, उद्योग खोलेको वर्ष दिन नपुग्दै विवाद आएको छ र भारतीय तर्फबाट हुने सबैखाले सहयोग बन्द भएको छ ।

विवादको चुरो

रामदेव बाबाको पतञ्जलीले पाँच महिनाअघि उद्योगमा बजार हेर्ने केही कर्मचारी नियुक्त गर्‍यो । राकेशकुमार शर्माको नेतृत्वमा आधा दर्जन कर्मचारी खटिए ।

तर, भारतीय पक्षले व्यवस्थापन सम्हाल्न थालेपछि स-सानो निहुँमा मजदुरसँग विवाद सुरु भयो । उद्योगमा माओवादीनिकट अखिल नेपाल औद्योगिक संघ एकाई गठन गरेको थाहा पाएपछि भारतीय पक्षले कडाइ गर्‍यो ।

तर, यो विवादले उग्र रुप लियो । मजदुर नेता अभिमन्यु पटेल, नितेश कुमार र दीपक कर्णलगायतलाई व्यवस्थापनले कारबाही गरेपछि आक्रोशित मजदुरहरुले १६ फागुनमा व्यवस्थापनका कर्मचारीमाथि हातपात गरे ।

यो विवाद श्रम कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । तर, सहमति नभएपछि भारतीय पक्षले उद्योग छाड्ने निर्णय गर्‍यो ।

उद्योगका व्यवस्थापक सीतासरण कण्ठले पतञ्जली भारतबाट नियुक्त भएका शर्मा र उनीसँगै आएकाहरुले दादागिरी देखाउँदा समस्या उत्पन्न भएकोे अनलाइनखबरलाई बताए ।

‘नेपालको श्रम कानुनलाई नमानी भारतीय पक्षले मनोमानी गर्न थाले’ उनले भने, उनीहरु उद्योगमा आएदेखि शुरु भएको विवाद ३/४ महिना चल्यो । भारतीय पतञ्जलीले फिर्ता उनीरुलाई बोलाएपछि उद्योगको अवस्था सामान्य छ ।’

वीरेन्द्र महतो भन्छन् -विवाद भएकै हो

उपेन्द्रका भाइ एवं समूहका सदस्य वीरेन्द्र महतोले भारतीय पतञ्जलीसँग विवाद भएको स्वीकार गरेका छन् ।

यद्यपि भारतीय पक्ष औपचारिक रुपमा नबाहिरिसकेको उनले बताए । ‘हल्ला गर्छन् तर, जाने कि नजाने फिक्स भएको छैन’ महतोले भने ।

योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले नेपालकै जडिबुटीबाटै नाफा लिइरहेको भन्दै उनले भने ‘गए भने पनि जान्छन्, के नेपालमा आयुर्वेद छैन र ?’

रामदेवले भने उपेन्द्र महतोसँग सहकार्य तोडेर नवलपरासीमा आफ्नै उद्योग खोल्ने तयारी गरेका छन् । पतञ्जली ब्राण्ड खोसिएपछि उपेन्द्र महतो समूहले भने नेपाली नाममै आयुर्वेद उद्योग चलाउने तयारी गरेको स्रोतले बतायो ।

यो रिपोर्ट सुरेश बिडारीले अनलाईन खबरमा लेखेका छन् ।