नेपालीहरूको शान र एकताको प्रतीक भोपालको प्रसिद्ध पशुपतिनाथ मन्दिर(भिडियो रीपोर्ट ) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपालीहरूको शान र एकताको प्रतीक भोपालको प्रसिद्ध पशुपतिनाथ मन्दिर(भिडियो रीपोर्ट )



अर्जुन खनाल /ईन्द्र कमल जैरु ,भोपाल 

भारतको मध्य प्रदेश राज्यको भोपालमा श्री पशुपतिनाथ मन्दिर आस्थाको केन्द्रका साथै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकताको प्रतीक बनेको छ। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको झल्को देखिने भोपालको गोविन्दपुरा क्षेत्रमा रहेको श्री पशुपतिनाथ मन्दिरले त्यहाँका नेपालीहरूलाई भावनात्मक रूपमा पनि एक सूत्रमा बाँधेको छ । भोपालको गोविन्दपूरा क्षेत्रमा करिब ३  एकडमा फैलिएको पशुपतिनाथ मन्दिरलाई भोपालमा रहने नेपालीहरूले आफ्नो शान समेत ठान्दछन । यहाँ बर्सेनि महाशिवरात्री पर्व र हरितालिका तीजका दिन भव्य मेला समेत लाग्ने गरेको छ ।

मेला भर्न पुरै भोपालका नेपाली जनसमुदायका साथै टाढा-टाढाबाट हिन्दु धर्मावलम्बीको बाक्लो उपस्थिति रहने गरेको छ। मेला पर्व लगायतका कार्यक्रममा नेपाली संस्कृति झल्किने परम्परा पनि पशुपतिनाथ मन्दिरमा देखिन्छ । पञ्चेबाजाको तालमा नेपाली समुदायले यहाँ आफ्नो संस्कृतिलाई दर्साउने गरेका छन् । मन्दिरमा बेला-बखतमा भक्तजनहरूका लागि भण्डारा अर्थात् भोजन समेत ग्रहण गराइने गरेको छ । एक पटकमा दसौँ हजार भक्तजनहरूलाई गराइने भण्डाराका लागि पनि दर्जनौँ नेपालीहरू आफै लागि परेर भोजन तयार गर्ने गर्दछन् ।

विशेष पर्वका दौरान भोपालका मुख्यमन्त्री र मन्त्रीहरूका साथै राजनीतिक दलका नेता कार्यकर्ताहरू पनि पूजा अर्चनाका लागि पुग्ने गरेको श्री पशुपतिनाथ नेपाली समाजले जनाएको छ। त्यसै गरी नेपालबाट भारत भ्रमणमा आउने शीर्ष नेताहरूले पनि मन्दिरमा दर्शन गरेको जनाइएको छ । अहिलेसम्म पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला, एमाले नेता झलनाथ खनाल लगायतका नेताहरू पनि मन्दिरमा पुगेको जनाइएको छ ।

रोजगारीका लागि भारत पुगेका नेपालीहरूलाई एकै थलोमा ल्याउनका लागि करिब ४०  वर्ष अघि विसं २०३५ सालमा स्वर्गीय मोहनलाल घिमिरे, स्वर्गीय कर्णबहादुर राना, स्वर्गीय किशनबहादुर प्रधान, स्वर्गीय धनबहादुर बन्जाडे, स्वर्गीय पूरण सिंह थापा, स्वर्गीय चक्रबहादुर श्रेष्ठ, स्वर्गीय बलवीर सिंह थामी, शकबहादुर पुन दिवाकर अर्याल, चन्द्रकान्त कड़ेल, मानबहादुर गुरुङले श्री पशुपतिनाथ नेपाली समाजको गठन गरेका थिए। त्यसपछि समाजमा आबद्ध हुँदै गएका नेपालीहरूले पशुपतिनाथ मन्दिरको स्थापना गर्नुपर्छ भन्ने चाहना जाहेर गरेपछि २०३५  साल फागुन १३  गते काठले बेरो लगाएर मूर्ती प्रतिस्थापन गरी श्री पशुपतिनाथ मन्दिर नामांकरण गरिएको संस्थापक अध्यक्ष शकबहादुर पुनले बताउनु भयो। यस मन्दिरलाई स्थापना गर्नका लागि नेपाली महिलाहरूले आ-आफ्नो गरगहना समेत बेचेर दान दिएको पुनको भनाई छ ।

अहिले यो मन्दिर भव्य र निकै आकर्षक देखिने गरेको भए पनि शुरुवाती चरणमा भने निकै समस्या रहेको बताइएको छ । नेपाली समाज र स्थानीयहरूको निरन्तर सहयोगका कारण अहिले मन्दिरले भक्तालुहरुलाई आकर्षित गरिरहेको छ । नेपाली समुदाय र स्थानीयको सहयोगमा मन्दिरमा केही वर्ष अघि अढाई किलोको सुनको गजुर समेत चढाइएको छ।

उक्त  गजुरको अनावरण मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गरेको श्री पशुपति नाथ नेपाली समाजका अध्यक्ष रामु शर्माले बताउनु भएको छ । यस मन्दिरलाई यस अवस्था सम्म पुर्‍याउनका लागि नेपाली समाजका साथै भारतीयहरूको पनि ठुलो साथ र समर्थन रहेको अध्यक्ष रामु शर्माले बताउनु हुन्छ । उहाँले मन्दिरलाई भोपालकै भव्य मन्दिरका रूपमा स्थापित गर्नका लागि आफूहरूको प्रयास जारी रहेको बताउनु भयो ।

मन्दिर परिसरमा गणेश मन्दिर, दुर्गा मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर र सूर्यनारायणको मन्दिर रहेको छ । त्यसै गरी मन्दिर परिसरमै हवन कुण्ड र हलको पनि निर्माण गरिएको छ । मन्दिरको हल भने मन्दिरका अनुष्ठानका साथै नेपाली समुदायका साथै आम सर्वसाधारणका लागि विवाह व्रतबन्ध लगायतका अनुष्ठान गर्न पनि निःशुल्क रूपमा उपलब्ध गराइने गरिएको छ। प्रत्येक 5 वर्षमा निर्वाचनमार्फत समाजमा नयाँ कार्यसमितिको चयन हुने गरेको छ । हरेक कार्यकालमा कार्य समितिले मन्दिरको विकासमा उल्लेख्य काम गर्दै आएको स्थानीयहरूको भनाई छ ।

हेर्नुस भिडियो रीपोर्ट