पशुपति शर्मालाई घोषणा गरेको पदक सरकारले दिएन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पशुपति शर्मालाई घोषणा गरेको पदक सरकारले दिएन



काठमाडौं । गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गर्‍यो ।

विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री मध्ये गायक शर्मालाई प्रबल जनसेवा श्री प्रदान गर्ने सरकारले निर्णय गरेको थियो ।

गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी आइतबार अर्थात नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् । सरकारले मानपदवी प्रदान गर्नका लागि निर्णय गरेर खबर पठाएका अधिकांश व्यक्ति प्राप्त मानपदवी ग्रहणका लागि सरकारले तोकेको पोशाक र समयमा राष्ट्रपति कार्यालय पुगे पनि प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा नाम रहेका गायक पशुपति शर्माले भने खबर पाएनन् ।

शर्माले केही समयअघि ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यङ्ग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएपछि युट्युबबाट हटाएका थिए ।

सरकारलाई यस्ता गीत प्रतिबन्ध लगाउन माग गरिरहेकै बेला युवासंघका कार्यकर्ताले शर्मालाई टेलिफोन गरेर गीत हटाउन धम्की दिएपछि उनले युट्युबबाट उक्त गीत हटाएका थिए ।

नयाँ वर्षको दिनमा शर्मा भने पर्वतको कुश्मामा भएको कार्यक्रममा पुगेका थिए । असोज ३ गते सरकारले मानपदवी घोषणा गर्दा आफ्नो नाम परेको थाहा पाए पनि आइतबार प्रदान गरिँदैछ भन्ने आफूलाई सम्झना नभएको र खबर पनि नपाएको शर्माले बताए ।

पदक घोषणा गर्दा आफ्नो पनि नाम भएको भनेर उनले कसैबाट सुनेको बताएका छन् । तर नयाँवर्षको दिन प्रदान गरिँदैछ भन्ने मलाई जानकारी उनलाई नभएको पनि बताए । आइतबार प्रदान हुँदैछ भन्ने उनले त्यसैदिन बिहान ८ बजे मात्रै थाहा पाएका थिए ।

उनले आफूलाई सरकारबाट औपचारिक रुपमा कुनै जानकारी नआएको बताए । यद्यपि पछिल्लो समय कार्यव्यस्तताले मोबाइल साइलेन्स मोडमा हुने हुँदा नउठेको हुन सक्ने उनको भनाइ छ ।

प्रबल जनसेवा श्री मानपदवी पाउने व्यक्तिलाई गृहले २६ गते फोन गरेर राष्ट्रपति कार्यालय सितल निवास प्रवेशका लागि तयार भएको चिठ्ठी लिन आउनका लागि खबर गरेको थियो ।