पर्यटन प्रवर्द्धन साझा लक्ष्य : मेयर बजगाई - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

पर्यटन प्रवर्द्धन साझा लक्ष्य : मेयर बजगाई



गोविन्द बीसी/बौनिया,कैैैलाली ।

पर्यटन प्रवर्द्धन गर्नु सबैको साझा लक्ष्य र अहिलेको प्रमुख आवश्यकता भएको नगरप्रमुख महादेव बजगाईले बताएका छन् ।

पर्यटन प्रवर्द्धनका लागि सबैको साझा धारणा र एउटै लक्ष्य हुनुपर्नेमा मेयर बजगाईको जोड रहेको छ । बिकासको मुख्य सम्भावना बोकेका धार्मिक पर्यटकीय क्षेत्रको बिकासले आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्न सकिने भन्दै मेयर बजगाईले कैलालीको पर्यटन विकासको लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका अष्टोउत्तर सत् महालक्ष्मी मन्दिरको छत ढलान उद्घाटन गर्दै नगर प्रमुख बजगाईले सो कुरा बताएका हुन । ७ नम्बर प्रदेशको प्रबेशद्वारको रुपमा रहेको लम्कीचुहा नगरपालिकाको कैलाशधाम तीर्थस्थल बल्चौरमा निर्माणधिन अवस्थामा रहेको यस क्षेत्रको आर्थिक सम्बृद्धिको लागि आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको नगर प्रमुख बजगाईले औल्याए ।

कैलाशधाम तिर्थ स्थलमा निर्माण हुन लागेको मन्दिर लम्कीचुहा नगरपालिकाको मात्र नभई ७ नम्बर प्रदेशकै गहना भएको उनलेे बताए । जलमार्गको प्रशस्त सम्भावना बोकेको मानसरोवरबाट बग्दै आएको कर्णाली नदीको महत्व धार्मिक, ऐतिहासिक रहेको बताउदै यस क्षेत्रको पर्यटन विकासलाई कसैले रोक्न नसक्ने मेयर बजगाईको दाबी छ ।

कैलाशधाम तिर्थ स्थल विकासका लागि समितिले लिएको लक्ष्य र उद्देश्य उत्कृष्ट रहेको बताउदै लम्कीचुहा नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले धन्यबाद व्यक्त गरे । उनले कैलाशधाम तिर्थस्थलको विकासमा वडा कार्यालय सधै लागि रहने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा बोल्दै कैलाशधाम तिर्थस्थलका अध्यक्ष लक्षिराम रिमालले वडा कार्यालय र नगरपालिकाले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै सम्पत्ति नगरपालिकाकै भएको बताए । सार्वजनिक धार्मिक संस्थानको रुपमा स्थापित कैलाशधामको विकासमा यस क्षेत्रका सबै स्थानीयको ध्यान जान जरुरी रहेको बताउदै धाम प्रदेशकै गहना र सम्पत्ति भएको बताए ।

करिव ६ करोडको लगानीमा निर्माण हुन लागेको मन्दिर ५ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिईएको छ । तर, बजेटको अभाबमा समयमै काम सम्पन्न गर्न सकिने सम्भावना न्यून रहेको संस्थाका महासचिव देवानन्द न्यौपानेले बताएका छन् ।

पछिल्लो समयमा महंगी बढेकाले मन्दिर निर्माणमा करिव १० करोड लगानी पुग्ने आंकलन गरिएको छ । नेपालकै नमूना मन्दिरको रुपमा निर्माण हुन लागेको मन्दिरमा १ सय ८ वटा देवी देवताका मन्दिर रहने छन भने, मन्दिरको प्रबेशद्धार नेपाली संस्कृति झल्किने प्यागोडा शैली र मन्दिरको मुख्य भागमा भारतको भल्को संस्कृति झल्कने शिखर शैलीको रहनेछ ।

धाममा मन्दिरका साथै बृहत आधुनिक गौशाला, नौमुठे गाई, सामुदायिक आयुर्बेदिक चिकित्सालय, बृद्धाश्रम, गुरुकुल, बिश्रामघाट, चिताघाट निर्माण गरिनेछ । यस्तै बिश्राम बाटिका समेत निर्माण हुने विश्व हिन्दु एकता परिषद् नेपाल कैलाशधाम तिर्थस्थलका महासचिव देवानन्द न्यौपानेले जानकारी दिए ।

मन्दिर निर्माणका लागि चालू आर्थिक बर्षमा लम्कीचुहा नगरपालिकाले २० लाख र घेरा पर्खाल निर्माणका लागि पुरातत्व विभागबाट ८ लाख बजेट रकम बिनियोजित गरिएको छ ।