पर्यटन प्रबर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पर्यटन प्रबर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया



विशाल पाण्डेय / घोडाघोडी ,कैलाली ।
पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम कैलालीको घोडाघोडीमा शनिबार सम्पन्न भएको छ ।

पर्यटन पत्रकार महासंघ कैलालीको आयोजना तथा घोडाघोडी नगरपालिकाको समन्वयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।

प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले
घोडाघोडी नगर क्षेत्रको विकास तथा संरक्षणका लागि आफुहरु लागिपरेको बताएका छन् । पर्यटन विकासका लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउदै नगर प्रमुख चौधरीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ घोडाघोडी तालसङ्गै रहेको ओजहुवा तालमा डुंगा सञ्चालन गरिएको बताए ।

सबैभन्दा ठुलो चुरे क्षेत्र कैलालीमा रहेको बताउदै नगर प्रमुख चौधरीले घोडाघोडी मन्दिरको पश्चिम पट्टीको साइडबाट चुरे गाउँपालिकासङ्ग समन्वय गरी चुरे क्षेत्र सम्म ट्रेकिङ, क्याम्पिङ्ग, र सम्भव भए प्याराग्लाडिङ्ग्को समेत अध्ययन गरिने बताए । घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि राष्ट्रिय योजना आयोगहरुसंग समन्वय गरि गुरु योजना निर्माणको तयारी गरिरहेको समेत चौधरीले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै लेक साइड इको टेल रिसोर्टका संचालक डबल शाहले घोडाघोडी नगरपालिकाले आफुले गरेको निर्णय कार्यान्वयनमा लैजान ढिला गरेको बताए । ओजुवा ताल क्षेत्रमा नगरपालिकाले भौतिक संरचनाहरु निर्माण गर्ने भनी निर्णय गरेपनी अहिलेसम्म कुनैपनी निर्णय कार्यान्वयन नगर्दा आफूले वातावरणमा असर नपर्ने गरि अहोरात्र खटिएर जैवीक शौचालय तथा अन्य संरचनाहरु निर्माण गरिरहेको बताए । शाहले डुङ्गा संचालन गरेर मात्र निजि क्षेत्र लामो समय टिक्न नसक्ने बताउदै पर्यटन प्रवर्द्धनका दीर्घकालीन रुपमा लाग्नुपर्ने बताए । पर्यटन विकासको लागि सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु संचालनमा ल्याउन पर्ने बताउदै शाहले घोडाघोडी क्षेत्रको पर्यटन विकासका लागि संचारकर्मीहरुलाई कलम चलाउन आग्रह समेत गरे ।

पर्यटन पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष भिम चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाही , वडा नं ४ का अध्यक्ष टेक बुढा , घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचका अध्यक्ष दीपेन्द्र शाही , नेपाल पंछी संरक्षण संघका फिल्ड सहजकर्ता हिरुलाल डगौरा , नेपाल पत्रकार महासंघ सुदुर पश्चिम् प्रदेशका महिला उपाध्यक्ष चाँदनी आचार्य ले शुभकामना मन्तव्य राखेका थिए ।

पर्यटन पत्रकार महासंघका कैलालीका वरिष्ठ उपाध्यक्ष रन्जित लामाको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमको संचालन महिला उपाध्यक्ष इन्दु केसिले गरेकी थिइन् ।

नेपाल पर्यटन पत्रकार महासंघ कैलालीले पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि पर्यटकीय स्थलहरुमा गएर बैठक बस्दै आइरहेको छ । यसअघि महासंघले पहिलो बैठक कञ्चनपुरको बन्धातालमा सम्पन्न गरेको थियो भने दोश्रो बैठक घोडाघोडी स्थित ओजुवा तालमा सम्पन्न गरेको हो । साथै समितीले आगामी बैठक खानी डाँडामा गर्ने निर्णय गरेको छ ।