काङ्ग्रेस र समाजवादीका कार्यकर्ताको 'ग्याङ फाइट', नौ घाइते - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

काङ्ग्रेस र समाजवादीका कार्यकर्ताको ‘ग्याङ फाइट’, नौ घाइते



धनुषा। धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच ‘ग्याङ फाइट’ भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन्। क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको हो।

कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ।

कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पुर्‍याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन्। 

झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन्। इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहालले कुनै पक्षका अहिलेसम्म उजुरी नपरेको बताए।