दोस्रो पुस्ताले हस्तक्षेप नगरे नेकपा फुट्ने पक्का - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

दोस्रो पुस्ताले हस्तक्षेप नगरे नेकपा फुट्ने पक्का



काठमाडौं- सत्तारुढ पार्टीको एकता दुर्घटनातर्फ उन्मुख छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले तत्काल बैठकमा नबस्ने, गुटगत आधारमा बैठक बसे निर्णय नमान्ने र बहुमतका आधारमा कुनै निर्णय भए झन् ठूलो ‘एक्सन’ लिने स्पष्ट पारिसकेका छन्। त्यस्तै, ओलीको कार्यशैली बेठीक भएको भन्दै प्रचण्ड–नेपाल समूहले अर्को बैठकको तयारी गर्दै छ। यद्यपि, मंगलबार ओली र प्रचण्डबीच टेलिफोनमा संवाद भएको छ र बुधबार भेटघाट तय भएको छ।

आइतबार आफूसहित सचिवालयका ६ सदस्यको बसाइमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको जानकारी दिएका थिए। त्यस्तै, महासचिव विष्णु पौडेलले पार्टीको अस्तित्व खतरामा परेको बताएसँगै नेकपाको एकता दुर्घटनाउन्मुख भएको प्रस्ट भएको छ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनको अवस्था, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशमा देखिएको तनाव र भारतीय गुप्तचर प्रमुख ‘रअ’ प्रमुखको नेपाल भ्रमणका विषय छलफल गर्न सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको माग पनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन्। बरु, उनी राजनीतिक र संवैधानिक निर्णयबारे परामर्शमा जुटेका छन्।

उता प्रचण्ड–नेपाल समूह केही दिनमा सचिवालय बैठक बोलाउने पक्षमा उभिएको छ । यद्यपि, त्यसअगाडि प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग संवाद गर्न नेताहरूको सुझाब छ। प्रचण्ड–नेपालनिकट नेताहरूले बताएअनुसार प्रधानमन्त्री ओलीले माने पनि र नमाने पनि निकट भविष्यमै सचिवालय बैठकको तयारी भएको छ। प्रधानमन्त्री ओली बैठकमा सहभागी नभए बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ।

दुवै पक्षको आ–आफ्नै तयारी र रणनीतिबीच विवाद व्यवस्थापनका लागि पनि सबै तहका नेताबीच आन्तरिक संवाद चलिरहेको नेताहरूको भनाइ छ। संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको संकट व्यवस्थापनका लागि दुवै अध्यक्ष विभिन्न तहका नेता र टेलिफोनमार्फत संवादमै रहेको बताए। ‘उहाँहरू विभिन्न साथीहरू र टेलिफोनमार्फत सम्पर्कमै हुनुहुन्छ, विभिन्न तहका साथीहरू लागिरहनुभएको छ, कोसिस भइरहेको छ, हेरौँ,’ नेम्वाङले भने। यद्यपि, उनले पछिल्लो संकट समाधानबारे नयाँ कुनै विकल्पमा प्रगति नभएको बताए।

उता, नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग मंगलबार छुट्टाछुट्टै भेट गरेका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूले अन्तिमसम्म एकताका लागि प्रयत्न गर्ने बताएको सुनाए। ‘उहाँहरूले पार्टी एकता बचाउन अन्तिमसम्म पहल गर्छौँ भन्नुभएको छ,’ पौडेलले भने।

उता प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि राजनीतिक भेट भएका छन्। प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वमाओवादी समूहका नेतासँग छलफल गरेका छन्। वरिष्ठ नेता नेपालले सोमबार प्रदीप नेपालसँग भेटघाट गरेका थिए। सोमबार गौतमनिवासमा प्रचण्डसहित सचिवालयका नेताहरू बसेका थिए।

तर, वरिष्ठ नेता नेपालनिकट स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी विभाजन रोक्न पछिल्ला संवाद अझै पर्याप्त नभएकाले त्यसलाई सघन बनाउनुपर्ने र दोस्रो पुस्ताले प्रभावकारी ढंगले दबाब र हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याए।

‘विभाजन रोक्न संवादलाई सघन बनाउन आवश्यक छ। त्यस्तै, दोस्रो पुस्ताले प्रभावकारी ढंगले दबाब र हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ,’ विष्टले भने, ‘हामी दुई अध्यक्षको सहमति वा असहमतिबाट कुरा मिल्ने वा नमिल्ने जुन विधि र मान्यताको चर्चा गरिरहेका छौँ त्यो नै बेठीक छ। जबसम्म कमिटी प्रणाली स्थापित हुँदैन, तबसम्म समस्याको समाधान सहज छैन।’

प्रधानमन्त्री ओलीले एकको बदला १० कदम अगाडि बढ्ने चेतावनी दिएपछि आइतबार नेकपाका अर्का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक कदम पछाडि हटेका थिए। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीनिकट दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी गरिरहेकै वेला प्रधानमन्त्री ओलीले जवाफी कदम चाल्ने चेतावनी दिएपछि प्रचण्ड–नेपाल एक कदम पछि हटेका थिए।

२६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन गर्ने, विधि र मापदण्डका आधारमा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताको काम असोजभित्र सम्पन्न गर्ने, महाधिवेशनको तयारी अगाडि बढाउनेलगायत निर्णय गरे पनि कार्यान्वयनका विषयमा ओली–प्रचण्डबीच विवाद सुरु भएको थियो।

प्रचण्डको सहमतिमै मन्त्रिपरिषद् पुनर्गठन भए पनि उनले गलत प्रचार गरेर आफूमाथि फेरि बहुमतको नाममा घेराबन्दी गरेको ओलीको आरोप छ। तर, प्रचण्डले भने स्थायी कमिटीको भावनालाई लत्याएर ओलीले एकलौटी निर्णय गर्दा समस्या उत्पन्न भएको बताउँदै आएका छन्।

असोज अन्तिम साताबाट कर्णाली प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राखेपछि चुलिएको विवाद समाधानबारे समझदारी भए पनि ४ कात्तिकमा दुवै अध्यक्षका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएपछि विवाद चर्किएको हो।

विवादबीच त्यसयता संवादहीनताकै बीचमा उनीहरूबीच शनिबार छलफल भए पनि झन् तिक्ततामा रूपान्तरण भएपछि नेकपाको आन्तरिक राजनीति पुनः दुर्घटनाउन्मुख देखिएको छ। भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको तीन घन्टा लामो भेटघाटले नेकपाभित्र थप आशंकाहरू पैदा भएका छन्।

४ कात्तिकको राति भएको टेलिफोन संवादमा पनि ओली र प्रचण्डबीच भनाभन भएको थियो। त्यस दिन पनि दुवै नेता ओली र प्रचण्डले दुवै मिल्न सकिन्न भने आ–आफ्नो बाटो लागौँ न’ भनेर फोन संवाद टुंग्याएका थिए। त्यसपछि उनीहरूबीच ११ दिनसम्म बोलचाल र भेट बन्द भएको नेत्र पन्थी र शुरोजंग पाण्डेले नयाँ पत्रिकामा।

१२औँ दिनका दिन शनिबार भेट र आइतबार फोन संवाद भए पनि थप तनाव कायमै छ। कात्तिक ५ र ११ मा ओलीले वरिष्ठ नेता नेपालसँग भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। ओली, प्रचण्ड र नेपाल तीनै समूह सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा अल्पमतमा छन्।