यी हुन् एकतामा टुंगिन बाँकी तीन विषय - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

यी हुन् एकतामा टुंगिन बाँकी तीन विषय



एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

टुंगिन बाँकी तीन विषय
जनयुद्ध राख्ने कि नराख्ने ?
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमाले नेताहरूको भनाइ छ ।

बाँडफाँड कुन अनुपातमा ?
दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने टुंगो लागेको छैन । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ । यो विषयमा कार्यदल तहमा छलफल नै भएन । यसको टुंगो लगाउन दुई अध्यक्षबीच अनौपचारिक छलफल जारी छ । तर, दुवै पार्टी आ–आफ्नै अडानमा छन् ।

विवाद टुंग्याउन दुई नेतालाई जिम्मा
बुधबार बसेको कार्यदलको बैठकले ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा उठेको विवाद मिलाउन एमाले महासचिव ईश्वर पोखरेल र माओवादी नेता बादललाई जिम्मा दिएको छ ।