परीक्षा दिँदादिँदै बच्चा जन्मेपछि…

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको नागार्जुन माध्यमिक विद्यालयमा परीक्षा दिइरहेकी एक विद्यार्थीले बच्चा जन्माएकी छिन्।
परीक्षा सञ्चालन भइरहेका बेला मीना धनाडीलाई सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि उनले छोरी जन्माएकी हुन्।
कक्षा १२ को शैक्षिक मूल्याङ्कन विषयको परीक्षा दिइरहेका बेला व्यथा लागेर स्वास्थ्य चौकी लगिएकी मीनाले छोरी जन्माएको शिक्षक गोपालसिंह मेहताले बताए।
‘तीनवटा प्रश्नको उत्तर नलेख्दै व्यथाले च्यापेछ, स्वास्थ्य चौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माइन्’ उनले भने।
सुत्केरी भएर परीक्षा दिन नसकेकी मीनालाई पुन परीक्षा दिन पाउने व्यवस्था मिलाइने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।

