‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’ : प्रचण्ड - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’ : प्रचण्ड



कान्तिपुर : धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।

‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै दाहालले भने।

२ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको नेतृत्व गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा छ। विश्वासको मत लिंदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेको थियो।

दाहालले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको जानकारी दिए। दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको बुधबार  बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।’,