मुलुकमै पहिलो पटक भाेजपुरमा 'पानीजहाज' सञ्चालन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मुलुकमै पहिलो पटक भाेजपुरमा ‘पानीजहाज’ सञ्चालन



काठमाडाैं । चतरास्थित नयाँ पुलदेखि भोजपुरको सिम्लेतिर जाँदा भेटिने अक्करे भीर । त्यहीँमुनि कोसीमा यात्रु ओसार्न तम्तयार छ जेटबोट । मुलुकमै पहिलो पटक जेटबोट सञ्चालन भएपछि धेरैलाई रोमाञ्चक यात्राको अवसर जुरेको छ ।

अक्करे पहाडको चेपमा रातो रंगको लाइफ ज्याकेट लगाएर कोसीको तीव्र जलप्रवाहमाथि हुइँकिरहेका यात्रुका अनुहार छिनछिनमा परिवर्तन हुन्छन् । प्रतिघण्टा ३० देखि ४० किमि स्पिडमा हुइँकिँदा र कोसीका कुइनेटाहरूमा घुम्दा उनीहरू ‘एड्भेन्चर’ महसुस गर्छन् । शान्त लहरमा पुगेपछि भने मोबाइल निकालेर सेल्फी हान्ने प्रतिस्पर्धै चल्छ ।

कहिलेकाहीं कोसीको जलप्रवाह र जेटबोटमा ठोक्किएर बन्ने फोहरा समात्न डराई–डराई भए पनि हात फैलाउन छाड्दैनन् । रोमाञ्चक यात्रासँगै सिम्लेसम्म पुग्दा साइडसिनको भरपुर मजा लिन उनीहरूका आँखा पहाडतिर सोझिन्छन् ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले व्यावसायिक रूपमा जेटबोट सञ्चालन गरेपछि कोसीमा रोमाञ्चक जलयात्रा गर्नेको संख्या दिनदिनै बढेको छ । सञ्चालक अध्यक्ष सन्तोष भण्डारीका अनुसार जलयात्राले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडिदिएको छ ।

जेटबोट पहाडी भेगमा कठिन यात्रा गर्नुपर्ने स्थानीय तथा पर्यटकका लागि सस्तो र सुगम माध्यम बनेको उनले बताए । उनले भने, ‘तमोर र दूधकोसीतिर पनि अध्ययन गर्दै छौं । जलयात्रा आफैंमा रोमाञ्चक भएकाले एउटा बोटले मात्र थेग्न नसक्ने अवस्था छ ।’ उनले जेटबोट सञ्चालनले बराहक्षेत्रको धार्मिक एवं पर्यटकीय आकर्षण बढाउन थप योगदान पुग्ने विश्वास लिएका छन् । ‘अर्कोचाहिँ कोसी, अरुण र दूधकोसीमा जलयात्राको रोमाञ्चकता लिन चाहने आन्तरिक र बाहय पर्यटकलाई लक्षित गरेर यो सेवा सुरु गरेका हौं,’ भण्डारीले भने ।

जेटबोटले उदयपुरको मैनामैनी, रामपुर, ठोक्सिला हुँदै गाईघाट जान चाहने पहाडी यात्रुलाई पनि सुविधा दिएको छ । भोजपुर, हतुवागढीकी रूपा तामाङले भनिन्, ‘यो सुविधा नहुँदा हतुवाबाट बराहक्षेत्रसम्म अक्करे भीरको बाटो हिँड्नुपथ्र्यो । पूरै एक दिन लाग्थ्यो । अहिले चतरादेखि सिम्लेसम्म जेटबोटमा २० मिनेट लाग्छ । अनि त्यसपछि केही घण्टा हिँडे घर पुगिन्छ ।’

पर्यटकलाई लक्षित गरिए पनि अहिले बढी भोजपुर र धनकुटाका दक्षिणी भेगबाट बराहक्षेत्र नगरपालिका हँुदै धरान, इटहरी विराटनगर आउने–जानेको भीड लाग्छ । दैनिक पाँचदेखि आठ ट्रिपसम्म हुने गरेको छ ।

सञ्चालक सदस्य अमित भगतले सुनसरीको बराहक्षेत्रस्थित चतराको नयाँपुलदेखि उदयपुर र भोजपुरको बीचमा पर्ने कोसीको चुहारसम्म जेटबोट सञ्चालन हुँदै आएको बताए । जेटबोट निकै महँगो पर्ने भएकाले हाल एउटा मात्र सञ्चालनमा ल्याइएको छ । एउटै जेटबोटको मूल्य करिब तीन करोड रुपैयाँ पर्छ ।

एक पटकमा २५ यात्रु बोक्ने जेटबोट भारतको कियान सिप कम्पनीले निर्माण गरेको हो । दैनिक अढाई सय यात्रुलाई सेवा दिने लक्ष्य राखिएको उक्त जेटबोटमा चतारादेखि चुहारसम्म (३० किमि) को भाडा चार सय रुपैयाँ तोकिएको छ ।

यसले यात्रु र सामानसहित ३५ सय किलो सामान बोक्न सक्छ । ठूलो क्षमताको जेटबोट हिमाली हिउँ पग्लेर आएको कोसीको तीव्र प्रवाहका कारण कतिपय ठाउँमा ठोक्किने भएकाले साना साइजका जेटबोट पनि ल्याउने तयारी भइरहेको भण्डारीले बताए । जेटबोट सञ्चालनले बराहक्षेत्र मात्र नभएर सिम्लेको सानो बजारमा पनि चहलपहल बढेको छ । सिम्लेमा व्यवसाय गर्दै आएकी सृजना तामाङ श्रेष्ठले भनिन्, ‘जेटबोट सञ्चालन भएपछि चहलपहल बढेको छ । यहाँ फिल्म सुटिङका लागि लोकेसन हेर्न आउन थालेका छन् ।’ उनले कोसीमा यस्ता जेटबोट अरू पनि सञ्चालन हुन सके झन चहलपहल बढ्ने बताइन् ।

सुनसरीको रामधुनी नगरपालिका ९ झुम्काबाट घुम्न आएका नवदम्पती सदन कार्की र प्रतीक्षा कार्कीले जलयात्राको प्रचुर सम्भावना रहेको बराहक्षेत्रमा जेटबोट सञ्चालनले धेरै पर्यटकलाई आकर्षित गर्ने बताए । प्रतीक्षाले भनिन्, ‘कति रमणीय पर्यटकीय स्थल छन् कोसी, अरुण र दूधकोसीका दुई किनारमा । ती साइडसिन अन्त पाइँदैन,’ उनले भनिन्, ‘यहाँ निजी क्षेत्रले जेटबोट चलाएर यिनको प्रवद्र्धन गरेको छ । जबकि यो सरकारले गर्नुपर्ने हो ।’

बराहक्षेत्र नगरपालिकाका प्रेस संयोजक नवराज विष्टले बराहक्षेत्र कोसी किनारको पर्यटकीय स्थल भएको बताए । उनले भने, ‘स्थानीय सरकारले जलयात्रा पर्यटनलाई व्यवस्थित बनाउन नीति बनाउँदै छ । त्यसका लागि नगरप्रमुख निलम खनाल जुटिरहनुभएको छ ।’ उनका अनुसार जलयात्राका लागि जेटबोट सञ्चालन हुन थालपछि बराहक्षेत्रमा चहलपहल बढेको छ ।

सुरक्षाका लागि जेटबोटमा यात्रा गर्ने सबैलाई लाइफ ज्याकेट अनिवार्य गरिएको र पाँच लाख रुपैयाँको बिमा पनि गरिएको अध्यक्ष भण्डारीले बताए । यसअघि सुम्निमा जल यातायातले कोसी नदीमा मोटरबोट सञ्चालनमा ल्याएको थियो । तर, दुर्घटनामा परेपछि बन्द भएको थियो । अाजकाे कान्तिपुरबाट ।