ओलीकै क्षेत्रमा पुगेर माधव नेपालले भने: हामीलाई पानीजहाज र गफाडी चाहिन्न - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीकै क्षेत्रमा पुगेर माधव नेपालले भने: हामीलाई पानीजहाज र गफाडी चाहिन्न



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका छन्।

अध्यक्ष नेपाल ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापाको दमकमा खेलकुद महासंघ समाजवादी प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका हुन्।

उनले सम्बोधनका क्रममा ओलीलाई गफाडीको संज्ञा दिए। ‘गफ धेरै गर्ने र टावर मात्रै ठड्याउने कुराको काम छैन’, उनले भने, ‘नेपालमा पानी जहाज नै आवश्यक छैन। आवश्यक नै नभएको कुरामा गफ गर्ने गफाडीको पनि काम छैन।’

उनले आफ्नै पार्टीको मात्रै भविष्य रहेको पनि बताए। ‘भविष्य छ भने यही पार्टीको छ। बाँकी पार्टीको पत्ता साफ हुने वाला छ’, उनले थपे, ‘एकीकृत समाजवादीको मात्रै भविष्य छ। राष्ट्रिय सभाको चुनावमा पाँचवटा पार्टी मिलेर लड्छौँ। शक्ति बढाउन गठबन्धन र तालमेल गर्नैपर्छ।’

उनले २०७४ सालमा पनि ओलीले राप्रपा र माओवादीसँग तालमेल गरेको भन्दै आफूहरुले पनि त्यही गर्न लागेको बताए।

‘मलाई विराटनगरमा होइन, तपाईंहरु एक्लै नलडेर पाँचवटा पार्टीको कुरा गर्नुहुन्छ भनेर सोधे’, उनले भने, ‘२०७४ सालमा राप्रपा र माओवादीसँग साँठगाँठ कसले गरेको थियो? आफ्नो शक्ति बढाउन तालमेल गरिन्छ। राष्ट्रियसभामा हामी सँगै जाने छौँ। उपनिर्वाचनमा पनि तालमेल गर्छौँ। स्थानीय तह र संघको चुनावमा पनि तालमेल हुन्छ।’