पाँचौं प्रयासमा भारी मतान्तरले विक्रम पाण्डे विजयी - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

पाँचौं प्रयासमा भारी मतान्तरले विक्रम पाण्डे विजयी



चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भएका छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै राप्रपाका उपाध्यक्ष समेत रहेका पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

विजयी भएका पाण्डेले ३५ हजार ५५ मत ल्याए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत ल्याए। सत्ता गठबन्धनका उम्मेदवार माओवादीका डा अधिकारीलाई ९ हजार २३३ मतको अन्तरले पराजित गर्दै राप्रपाका पाण्डेले प्रतिनिधि सभाको सिट सुरक्षित गरेका हुन्।

चितवन ३ बाट यसअघि २०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए। पाण्डे प्रचण्डसँग ९ हजार ३४१ मतको अन्तरले पराजित भएका थिए। प्रचण्डले ४८ हजार २७६ मत ल्याएका थिए भने पाण्डे ३८ हजार ९३५ मतमा सीमित भएका थिए।

चितवनमा सत्ता गठबन्धनबाट माओवादीका अधिकारी थिए भने नेपाली कांग्रेसबाट विद्रोह गरेर उठेका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको थियो। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि चुनावी मैदानमा थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ८४२ मत ल्याउँदै तेस्रो हुँदा एमालेको समर्थन पाएका दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याए।
पाण्डे भने विना गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए।

यस क्षेत्रबाट लगातार पाँचौंपटक चुनावी प्रतिस्पर्धा गरेका पाण्डेले यसपटक दोस्रो जित निकालेका हुन्। यसअघि उनी २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उक्त क्षेत्र हाल चितवन ३ मै पर्छ।

प्रचण्डले चितवन ३ छाडेर गोरखा रोजेपछि पाण्डेको प्रतिस्पर्धाका लागि ‘हेभीवेट’ उम्मेदवारहरु थिएनन्। तर, गठबन्धनको मत भने कम थिएन।