मन्त्रालयको एउटा रोचक प्रसंग- जब मन्त्रीकै फाइल आठ महिना रोकियो - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

मन्त्रालयको एउटा रोचक प्रसंग- जब मन्त्रीकै फाइल आठ महिना रोकियो



काठमाडौँ – एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम मानिसको जिज्ञासाको विषय हो यो । यसको सामान्य जवाफ हुने गर्छ बढीमा सात दिन ?

एउटा मन्त्रालयले अर्को मन्त्रालयमा सहमति वा आवश्यक निर्णय प्रक्रियाका लागि पठाएको कागजात सातदेखि आठ महिनासम्म अड्कियो वा त्यस विषयमा निर्णय नै भएन भने त्यसको प्रभाव कस्तो पर्ला ? असर पक्कै पनि गम्भीर पर्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित आव २०७८/७९ को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तै, गुनासो र हैरानी प्रस्तुत गरिएको थियो ।

त्यो गुनासो गर्ने अरू कोही नभएर ऊर्जामन्त्री पम्फा भुसाल नै थिइन् । आवश्यक निर्णयका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका पठाएको कागजात लामो समयसम्म रोकिँदा मन्त्रालयको कार्यप्रगतिमा नै व्यवधान खडा भएको उनले गुनासो गरे ।

सरकारी निकायका बीच एकआपसमा समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन । कर्मचारी प्रशासनले कतिपय अवस्थामा जोखिम लिएर निर्णय गर्ने क्षमताको विकास हुन सकेको छैन । जोखिम देख्ने बित्तिकै फाइल रोकेर राख्ने वा राजनीतिक नेतृत्वलाई देखाइदिने प्रवृत्ति पनि उत्तिकै छ ।

यही समस्याबारे ऊर्जामन्त्री भुसालले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा जानकारी गराएकी हुन् । उनले भनिन्, कुनै पनि फाइलको निर्णय कति समय हुनुपर्ने हो, त्यसको कुनै ठेगान नै भएन । कति दिनमा टुङ्गो लगाउनुपर्ने हो, त्यसबारेमा स्पष्ट व्यवस्था हुनुपर्छ । उनले आफूले आवश्यक निर्णयका लागि अर्थ मन्त्रालयमा पठाएको फाइल आठ महिनाभन्दा बढी समय रोकिएको जानकारी दिइन् ।

यस्तै, राष्ट्रिय योजना आयोगमा पठाइएको अर्को एक फाइल पनि आठ महिनासम्म नै रोकिएको उनको गुनासो थियो । कति समयभित्र के कति कारणले रोकिएको हो भन्नेबारे स्पष्ट निर्णय हुने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

उनले कुन आयोजनाको कस्तो प्रकृतिको फाइल त्यत्रो समय रोकिएको हो भन्ने बारेमा भने केही बताइनन् । विकासे मन्त्रालयको गतिविधिका बारेमा हेर्ने अर्थ मन्त्रालयमा प्राविधिक कर्मचारी नहुँदासमेत समस्या खडा भएको उनको भनाइ छ । मेरो विचारमा त अर्थ मन्त्रालयमा कम्तीमा एकजना प्राविधिक सचिव नै भए राम्रो हुन्छ । यदि त्यसो नहुने हो भने पनि सहसचिवको व्यवस्था गरेर भए पनि समस्याको समाधान गरिनुपर्छ ।

हरेक महिना १० प्रतिशतका दरले विकास बजेटको खर्च गर्ने भन्ने विषय प्राविधिक रुपमा अमिल्दो भएको उनको भनाइ छ । सार्वजनिक खरिद प्रणालीअनुसार बोलपत्रका लागि ४५ दिन र अन्य प्रक्रिया पुर्‍याउन थप एक महिना लाग्ने भएकाले मासिक रुपमा १० प्रतिशत खर्च गर भन्ने विषय वस्तुवादी नभएको उनको भनाइ छ ।

ठूलो मेहनत गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०७८÷७९ मा वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत बराबर गराउन सफल भएको उनको भनाइ छ ।

सो आवमा मन्त्रालयको कूल वार्षिक बजेट रु एक खर्ब तीन अर्ब ८० करोड ८१ लाख रहेकामा कूल रु ७९ अर्ब ५४ करोड ४५ लाख बराबर खर्च भएको छ । ऊर्जातर्फ रु ७२ अर्ब ९८ करोड ४५ लाख बजेट विनियोजन भएकामा रु ५४ अर्ब ५९ करोड ४३ लाख खर्च भएको छ । त्यो भनेको वित्तीयतर्फ ७५ प्रतिशत र भौतिकतर्फ ७७ प्रतिशतको प्रगति हो ।

यस्तै, जलस्रोत र सिँचाइतर्फ रु ३० अर्ब ८२ करोड ३६ लाख बजेट विनियोजन भएकामा रु २४ अर्ब ९५ करोड दुई लाख खर्च भएको छ । त्यो भनेको वित्तीयतर्फ ८१ प्रतिशत र भौतिकतर्फ ८७.९३ प्रतिशत बराबरको प्रगति हो ।

मन्त्री भुसालले प्रतिस्थापन विधेयक आएपछि मन्त्रालयले गतिमा काम गरेको जानकारी दिँदै नौ महिनाको अवधिमा भएको प्रगतिका सन्दर्भमा प्रसन्नता व्यक्त गरिन् ।

जे जति काम भएका छन्, त्यसमा म खुसी नै छु । अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने लागेको छ । बितेको वर्षबाट शिक्षा लिएर चालु आवमा थप प्रगति हुने गरी काम गर्न सबैलाई म आग्रह गर्दछु, मन्त्री भुसालले भनिन् ।

आयोजना मर्मतका लागि विशेष कोष

उनले अर्बौं लगानी भएको परियोजनामा मर्मतका लागि कुनै पनि स्रोतको व्यवस्था नहुँदा समस्या देखिएको बताइन् । उनले त्यसका लागि अर्थ मन्त्रालयले नै एउटा विशेष कोषको प्रबन्ध गर्नुपर्ने बताइन् ।

ठूलो मात्रामा लगानी भएको परियोजनाको मर्मतका लागि बजेटको अभाव हँदा आयोजना रुग्ण हुने अवस्था देखापरेको छ । मर्मतका लागि निश्चित बजेटको प्रबन्ध गरौँ र विशेष कोष बनाएर त्यस्तो बजेट राख्दा फ्रिज हुने सम्भावना पनि रहँदैन, उनले भनिन् । उनले खर्चका लागि पनि विशेष प्रबन्ध हुनुपर्ने बताइन् ।

एक शताब्दीअघि निर्माण भएको चन्द्रनहर मर्मतका लागि बजेटको अभाव देखिएपछि मन्त्रालयकै पहलमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत मर्मत गर्न लागिएको सोही अवसरमा जानकारी दिइयो ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्णले कम प्रगति भएका आयोजनामा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । प्रगति भएका र देखिएका आयोजनाले आगामी दिनमा अझै राम्रो गरौँ । कम प्रगति भएका आयोजनामा किन त्यस्तो भयो भनेर समाधानका उपाय खोजौँ र उपचार गरौँ, उनले भने ।

ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गत आवमा मन्त्रालय मातहतका निकायले गरेको प्रगति सन्तोषजनक रहेको भन्दै समस्या देखिएका क्षेत्र र विषयमा समाधानका लागि पनि उत्तिकै पहल भएको बताए ।

उनले ऊर्जा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारमा योगदान दिने भएकाले मन खोलेर लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । कृषि र ऊर्जा क्षेत्र आयात प्रतिस्थापन गर्ने र निर्यात गर्ने सामग्रीसमेत भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

जलस्रोत सचिव सागरकुमार राईले निरन्तर प्रयासका कारण सिँचाइका क्षेत्रमा उल्लेख्य प्रगति भएको विवरण पेस गरे । उनले त्यसका लागि मन्त्रालय र मातहतका सबै निकायलाई धन्यवादसमेत दिए ।

जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले वर्षदिनभर काम हुने भए पनि विभिन्न प्राविधिक कारणले भुक्तानी आर्थिक वर्षको अन्त्यमा हुने भएकाले अघिल्ला महिनाहरुमा प्रगति कम देखिने गरेको तथ्य पेस गरे । आयोगले चालु आवका लागि विभिन्न १६ परियोजना अगाडि बढाउन लागेको र गत आवमा अपेक्षित नतिजा हासिल भएको जानकारी दिए । रासस