सीमाना सुरक्षा गर्न नेपाली सेना चाहियो: पम्फा भुसाल
काठमाडौं – नेकपाकी सांसद पम्भा भुसालले सीमा क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै समिति सदस्य समेत रहेकी सांसद भुसालले सेनालाई ठेक्कापट्टामा नभएर सीमा सुरक्षामा परिचालन गर्नुपर्ने माग गरेकी हुन् ।
साथै उनले सीमा समस्या समाधानका लागि कूटनीतिक होइन राजनीतिक पहल गर्नुपर्छ, भनिन् ।
कालापानी क्षेत्रमा देखिएको सीमा समस्याको समाधान कूटनीतिक तबरबाट हुन नसक्ने उनको जिकिर छ ।
समस्या समाधानका लागि राजनीतिक तहमै कुराकानी गर्नुपर्ने माग सांसद भुसालले गरिन् ।
उनले सीमा नियमन गरेर आवतजावतका लागि परिचय पत्रको व्यवस्था गर्न माग समेत गरेकी छन् ।
बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा मन्त्रीहरू रामबहादुर थापा बादल र पद्मा अर्याल पनि सहभागी छन् ।