पाल्पामा सुन्तला उत्पादनमा कमी, मर्कामा किसान - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

पाल्पामा सुन्तला उत्पादनमा कमी, मर्कामा किसान



पाल्पा। रैनादेवी गाँउपालिका छहरा अमलवासका टिकाराम पोखरेलले सुन्तलाबाट राम्रो आम्दानी गर्दै आएकाछन्। पोखरेलले गत वर्ष ४ लाखको सुन्तला बेचेका थिए। तर यस वर्ष भने बारीमा सुन्तला कम फल्दा आम्दानी नहुने पोखरेलले बताए। जिल्लाको पश्चिम क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा मानिदै आए पनि यस वर्ष भने सुन्तला उत्पादनमा कमी आएको छ। यस क्षेत्रका किसानहरुले व्यवसायीक रुपमै सुन्तला खेती गर्दै आए पनि बारीमा सुन्तला कम फल्दा निरास देखीएका छन्।

लामो समय देखी अमलवासमा व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका ७८ वर्षीय यमलाल कोईरालाले यस वर्ष भने सोचे जस्तो सुन्तला उत्पादन नभएको बताए। २०४० साल देखी सुन्तला खेती थालेका कोइरालाले सुरुका वर्ष ८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका थिए। निरन्तर मेहनत र लगानीले उनले प्रत्येक वर्ष आम्दानीको स्तर बढाउदै बार्षीक ५ लाख सम्मका सुन्तला विक्रि गर्दै आएको बताए।

उनले भने सुरुमा त बारीमा सुन्तला लगाउदा गाँउका दाजुभाईले सुन्तला लगाएर यसले के गर्न खोजेको होला भनी नराम्रो दृष्टिले हेर्ने गर्दथे। जव सुन्तलाबाट प्रत्येक वर्ष राम्रो आम्दानी गर्न थाले त्यस पछि छिमेकीले यसले राम्रो काम गरेको भनि अनुसरण गर्न थालेको कोइरालाले बताए। अहिले उनको बारीमा ५ सय भन्दा बढी सुन्तलाका बोट रहेका छन्। यही उत्पादित सुन्तला विक्रि गरेर २ छोरालाई पढाएको र विवाह समेत गरिदिएको कोईरालाले बताए।

अन्य खेतीबाट भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भए पछि जिल्लाका रैनादेवी र रिब्दीकोट गाँउपालिकाकाका किसानहरु यस खेती तर्फ आकर्षीत देखिन्छन्। सुन्तला खेती बाटै केही किसानहरु आत्मानिर्भर भएपनि यस वर्ष भने बारीमा कम सुन्तला उत्पादन हुदाँ किसानहरु निरास देखीएका छन्।

रिब्दीकोट गाँउपालिकका मैनादीका जगदीश कुवँरका अनुसार सुन्तलाको फल लाग्ने समयमा ओसीना पर्नु, बोटबाटै सुन्तला झर्नु र प्राविधीक ज्ञान नहुनुले सुन्तला उत्पादनमा कमी आएको बताए। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने छहरा, मुझु, सोमादी, भुवन पोखरीका किसानहरु यति बेला बारीमा सुन्तला कम फल्दा आर्थिक अभाव हुने हुदाँ निरास भएका छन्। अन्य खेती गर्न छाडेर सुन्तला खेतीबाटै जीवीको पार्जन गर्दै आएका किसानहरु बढी निरास देखीएका हुन्।