खुल्ला आकाश मुनी ५ बर्ष विताउदा समेत कुनै राहत पाएनन्
पाल्पा । पाल्पाको तानसेन नगरपालिका कुन्सरेका एक गरिब परिवार खुल्ला आकाशमा ५ बर्ष विताउदा समेत उनीहरुले कुनै राहत पाउन सकेका छैनन् । जंगलको बीचमा बल बहादुर वि.कका ३ बालक र श्रीमती सहित जंगली जनावरको डर र चिसोले कठ्याग्रिएर रात विताउन बाध्य भएको बताउछन् ।
४५ बर्षिय अपांग वि.कको हाल सम्म न त नागरिकता बनेको छ न त अपांगताको परिचय पत्र नै । सुत्नको लागि वास छैन , खानको लागि गाँस छैन् , केटाकेटीहरु खान नपाएर रातभरि रुने गरेको वि.क को गुनासो रहेको छ । श्रीमतीले दिनभरि सालको पात टिपेर बेचेको केही पैसाले जे जति हुन्छ खाने गरेको उनले बताएका छन् ।
शौचालय नभएका कारण बासस्थानको वरिपरी दुर्गन्धित वातावरण छ । वरिपरी जंगल भएका कारण साँझमा जंगली जनावर आउने गरेको समेत उनीहरुले बताउँछन् । आफु अपांग भएकाले केही काम गर्न नसक्दा परिवारले दुःख पाएको बल बहादुर बताउँछन् ।
हाल सम्म संघ संस्था र सरकारी निकायबाट कुनै सहयोग नभएको उनी बताउँछन् । बल बहादुरको दयनीय अवस्था देखेर सामुदायिक सेवा केन्द्रका सदस्यहरुले व्यक्तिगत रुपमा खाद्यान्न र लत्ताकपडा दिएका छन् । केन्द्रकै पहलमा उनको नागरिकता र अपांग परिचय पत्र बनाइदिएर सरकारी निकायमा समेत उनको सहयोगको लागि पहल गरिने भएको छ ।