नेताहरुले स्विजरल्यान्डमा पैसा थुपारेको राजेन्द्र लिङ्देनको आरोप - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नेताहरुले स्विजरल्यान्डमा पैसा थुपारेको राजेन्द्र लिङ्देनको आरोप



जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राष्ट्रपति राजाभन्दा बढी सुविधाभोगी रहेको आरोप लगाएका छन्। लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताको नाममा प्रमुख तीन दलले मुलुकमा लुटतन्त्र चलाइरहेको आरोप उनले लगाए। ती पार्टीका नेताहरुले करोडौं रुपैयाँ स्विजरल्यान्ड थुपारेको उनको आरोप छ।

‘पछिल्लो ३१ वर्षमा तीन दलले शासन व्यवस्था चलाए र अहिले मधेसवादी दलहरु पनि थपिन पुगेका छन् । उनीहरुले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा लुटतन्त्र चलाएका छन्,’’ राप्रपा प्रदेश २ समितिले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय सभामा उनले भने।

उनले निष्पक्षता र स्वतन्त्रताका हिसाबले पनि मुलुकमा राजतन्त्र आवश्यक रहेको दाबी गरे। ‘‘राजतन्त्रमा राजा महँगा भए भनेर झ्याली पिट्नेहरुसँग म सोध्न चाहन्छु, अहिलेको राष्ट्रपतिको सेवा–सुविधा जोड्नोस्, पूर्व राष्ट्रपतिमा राज्यले गरेको खर्च जोड्नोस् र भन्नोस् राष्ट्रपति महँगो कि राजा ?’’

लिङदेनले नेपाल सिक्किमको बाटोमा गइरहेको बताए। ‘‘सिक्किममा राजतन्त्र थियो, जब त्यहाँका राजा हटे त्यसपश्चात् त्यहाँका नेताले सिक्किमलाई भारतमा विलय गराए , नेपालमा त्यही हुने खतरा छ।’

सभामा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले लोकतन्त्र स्थापना भएयता मुलुकमा रहेको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा कारखाना तथा लुम्बिनी धागो मिल लगायतका कल कारखानाहरु धरासायी बनेको बताए।

उनले लोकतन्त्रवादी भनिएका दलका नेताहरुले गरेको भ्रष्टाचारले आजित बनेका जनताले विकल्प खोजिरहेको बताए। ‘‘अचेल जनतामा निराशा छाएको छ। जनता आक्रोशित छन्,’’ उनले भने, ‘‘उनीहरुको निराशाको मूल कारण आफूलाई लोकतन्त्रवादी भन्ने दलका नेताहरुले गरेको भ्रष्टाचार हो। जनताले विकल्प खोजेका छन्। राप्रपा विकल्प दिन तयार छ।’’