पैसा बनाउने भन्दै काठमाडौंमै ठगी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पैसा बनाउने भन्दै काठमाडौंमै ठगी



काठमाडौं– ठगका अनेका दाउ भनेझैं पैसा बनाउने भनेर ठग्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दी ओखरबोटका ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुंगा दियालेका ४४ वर्षीय मानबहादुर सुवेदी छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

उनीहरुले पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी गर्दै आएका थिए। सक्कली पैसाबाट अर्को सक्कली नै पैसा बनाउने भन्दै उनीहरुले मान्छेकै अगाडि सादा कागजबाट पैसा बनाएर विश्वासमा पार्दै ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुले सादा कागजबाट सक्कली नेपाली नोट बनाएको भन्दै आँखा छलेर ठगी गर्ने गरेका थिए।
सोझासिधा नागरिकलाई विश्वासमा पारेर खाली कागजको बिटोलाई आफूले बनाएको रकम भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। अहिलेसम्म यसरी ४ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडित प्रहरी सम्पर्कमा आएका छन्। उनीहरुले ठग्ने तरिकासमेत प्रहरीकै अगाडि देखाएका छन्। जहाँ खाली कागज, बेटालिन र अन्य केमिकल प्रयोग गरेर पैसा बनाउने भन्दै सर्वसाधारणको आँखा छलेर ठग्ने गरेको देखिन्छ।

यसरी बनाएका नोट उनीहरुले बन्डल बनाएर बाहिरबाट कागजले प्याक गर्दै सर्वसाधारणलाई ठगी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएस्पी होबिन्द्र बोगटीले बताए।

बाहिर पहेँलो कागजले प्याक गरिएको उक्त बण्डलभित्र भने खाली कागजमात्रै छ। तर ठगहरुले ‘प्रहरीले थाहा पाउँछन् यहाँ नोखल्नु’ भन्दै लाख-लाखका बण्डलका हजारको नोट भन्दै खाली कागज दिएर ठगी गर्दै आएका थिए।

सक्कली नोटको बीचमा नक्कली नोट हालेर ठगी गर्ने गरेको पाइए पनि जादु देखाएर ठगी गर्ने गरेको यस किसिमको घटना नौलो भएको प्रहरीले जनाएको छ। अहिले पक्राउ परेका दुवै जना यसभन्दा अघि पनि ठगी मुद्दामा पक्राउ गरेकाले उनीहरु पेसेवर ठगहरु भएको प्रहरीले जनाएको छ।

उनीहरु विरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।