विमानस्थलमा सुरु गरिएको ‘अप्रेसन मण्डला’ के हो ?
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरिएका पासपोर्ट प्रयोग गरी अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीको घुसपैठ रोक्न बिहीबारदेखि अप्रेसन मण्डला सुरु गरेको छ । इन्टरपोलबाट आउने सूचनाका आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यले सरकारले अप्रेसन मण्डला सुरु गरेको हो ।
दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानी प्रयोग गरी अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी गतिविधि रोक्न अप्रेसन मण्डलाको सुरुवात भएको हो ।
अप्रेसन अन्तर्गत संगठित अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागका अधिकारी सक्रिय हुनेछन् । अप्रेसन मण्डलाको टोलीले इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गर्नेछ ।
अप्रेसन हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि वैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्टरपोल इन्टिग्रेटेड बोर्डर म्यानेजमेन्ट टास्क फोर्सका संयोजक ह्विक लीलगायत अध्यागमन विभाग एवं नेपाल प्रहरीका अधिकृतहरुको उपस्थितिमा अप्रेसनको सुरुवात भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले अप्रेसनको शुभारम्भ गरेका हुन् ।