प्रहरीले पाँच अनलाईन पोर्टल र सम्पादकलाई पत्र काट्यो - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

प्रहरीले पाँच अनलाईन पोर्टल र सम्पादकलाई पत्र काट्यो



काठमाडौ‌-

महानगरीय प्रहरी परिसर काठमाडौंले ५ वटा अनलाईन पत्रिका र सम्पादकलाई सिलवालको समाचार छापेको र सो समाचारको श्रोत खोज्दै पत्राचार गरेको छ ।

यसै विषयमा प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ ।

प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताए ।

“प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो”,विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।”

चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्था विरोधी यस्तो कदम तत्काल सच्चाउन आग्रह गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का (काठमाडौँपाटी डटकम), रवि धामी (मूलधारन्यूज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक/अपराध खबर डटकम) लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ । पाँचै पत्रकारको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन दिइएको थाहा भएको छ ।