ओलीले फेरी भने रंगशाला पनि आफै बनाउँछु ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीले फेरी भने रंगशाला पनि आफै बनाउँछु !



भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्लामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन आफू तयार रहेको बताएका छन्।

पछिल्लो समय क्रिकेट, फुटबल, भलिबललगायतको खेलप्रति देशका युवायुवतीको ‘क्रेज’ बढ्दै गएकोले देशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रथम जिल्लासभालाई सम्बोधन गर्दै भने, ‘तपाईंहरू ठाउँ दिनुहोस्, रंगशाला बनाउने जिम्मा मेरो।’

‘रंगशाला बनाउँदा यसको नाममा बनाउनुपर्छ, उसको नाममा बनाउनुपर्छ नभन्नुहोस्, एउटा नीति बनाएर आउनुहोस् रंगशाला बन्छ।’ गृहनगर दमकस्थित लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला अहिलेसम्म बनिसक्थ्यो, तर नाम विवादले त्यो रंगशाला ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरे ।

‘दमकमा बनाउन लागिएको रंगशालाको नाम मदन भण्डारी रंगशाला भनि राखेको नाम मैले नै प्रस्ताव गरी व्यवस्थापन सुरु गरेका थियौँ,’ उनले भने, ‘त्यसपछि त्यहाँ अर्को समिति खडा भएदेखि नामको विवाद बल्झिएको स्मरण गराए।’

खेल खेलाउने र दर्शक बस्ने गरी दुई/चार बिघा जमिनमा अबको रंगशाला बन्ने भन्दै उनले भने, ‘अब रंगशाला बनाउन कम्तीमा १० बिघा जमिन पार्किङ्गस्थलका लागि अलग्गै छुट्‍याएर बनाउनुपर्ने हुन्छ।’ हरेक क्षेत्रको विकासका लागि रंगशाला आवश्यक पर्ने भन्दै उनले त्यसका लागि सरकार तयार रहको बताए।

‘हरेक क्षेत्रको विकासका लागि अब रंगशाला चाहिन्छ,’ उनले भने, ‘झापामा रंगशाला बनाउनु आवश्यक छ।’ यता, दमकको लखनपुरमा बन्न लागेको रंगशालाको नाम मदन भण्डारी र आदिवासी गरी दुई वटा नाम राख्ने प्रस्तावमा विवाद बल्झिएको हो। अहिले झापाको भद्रपुरमा मेची रंगशाला रहेको छ।