ओलीले डाके स्थायी कमिटी बैठक: सहमति अनुमोदन गर्ने तयारी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीले डाके स्थायी कमिटी बैठक: सहमति अनुमोदन गर्ने तयारी



काठमाडौं- कार्यदलले गरेको १० बुँदे सहमतिपछि नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। आइतबार डाकिएको बैठक स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपराह्न बैठक डाकेका थिए । तर सहमति भइनसकेको र नेपाल समूह नआउने भएपछि बैठक सारिएको थियो । एमाले स्थायी कमिटी बैठक अपरान्ह पाँच बजे बोलाइए पनि अगाडी सार्ने तयारी भैरहेको बताइएको छ ।

आइतबार एकता कार्यदलको बैठकमा आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका थिए। तर कार्यदल सहमति नजिक पुगेपछि ओलीले बैठक स्थगित गरेका थिए।

पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सहमति भएसँगै आजका लागि बोलाइएको स्थायी कमिटी बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको छ।

नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्यूँताइदिएपछि एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन। तर, आजको बैठकमा भने नेपाल पक्ष सहभागी हुने सम्भावना रहेको छ।