केपी ओलीले बताए नेपालको विकास हुन नसक्नुको कारण - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

केपी ओलीले बताए नेपालको विकास हुन नसक्नुको कारण



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन्।

ललितपुरको गोदावरीमा हिजाे गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन। विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन।’उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए। अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे।

उनले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताए। अब देशको तीव्र विकास सङ्ख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताए। हिजाे आयोजना गरिएको जस्तै ‘युवासँग म’ कार्यक्रम हरेक वर्ष वैशाख ७ गते अन्तरक्रिया कार्यक्रमको निरन्तरता दिन अध्यक्ष ओलीले सुझाव दिए। कार्यक्रममा विभिन्न सङ्घ सङ्गठनमा रहेका युवा उद्यमी, कलाकार, पेसाकर्मीले अध्यक्ष ओलीलाई विकास निर्माण र एमालेको प्रतिबद्धतासँग सम्बन्धित प्रश्न गरेका थिए।