देउवालाई ओलीको संदेश: दुई सर्त पुरा गरे संसद खोल्छौँ, एमसीसी पारित गर्छौँ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देउवालाई ओलीको संदेश: दुई सर्त पुरा गरे संसद खोल्छौँ, एमसीसी पारित गर्छौँ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवासंग दुई सर्त राखेको खुलेको छ । ओलीले आफू अमेरिकी सहयोग परियोजना एमसिसीसँग भएको सम्झौता कार्यान्वयनमा सकारात्मक भएको बताउँदै दुई सर्त राखेका हुन् ।

प्रधानमन्त्री देउवाको दुत बनेर बुधबार साँझ ओलीनिवास बालकोट पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ओलीले देउवालाई सर्त सहितको संदेश पठाएको स्रोतको दाबी छ । संसद खुलाउने र एमसीसी पारित गराउने विषयमा पौडेलले लागेको प्रस्तावमा ओलीले यी दुवै कुरा गर्नका लागि देउवाले दुई सर्त पूरा गर्नुपर्ने बताएको स्रोतले बतायो ।

ओलीले पौडेललाई बताए अनुसार उनका दुई सर्त यसअघिकै हुन् तर यसपटक प्रस्तुति भने केहि फरक थियो । ओलीले दुई सर्तको रूपमा सभामुख अग्नि सापकोटालाई हटाउनु पर्ने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका १४ सांसदलाई कारवाही गर्नुपर्ने कुरा अगाडी सारेका छन् ।

ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासमक्ष आफ्ना यी दुई सर्त पुर्याउन कांग्रेस नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए । जवाफमा पौडेलले अदालतमा विचाराधीन मुद्दामा अड्किएर संसद र एमसीसीलाई बन्दी नबनाउन आग्रह गरेका थिए ।

एमाले अवरोधकै कारण संसद बैठक राम्रोसँग चल्न सकेको छैन । सरकारले आफ्ना माग पुरा नगरे आफूहरुले संसदको अवरोध आगामि निर्वाचनसम्मै राख्ने एमाले अध्यक्ष ओलीले केही दिनअघि एक कार्यक्रममा बताएका थिए ।

संसदमा अमेरिकी परियोजना एमसिसीसँग भएको सम्झौता टेबुल पनि भएको छैन । नेकपा माओवादी केन्द्रको कोटाबाट सभामुख बनेका अग्निप्रसाद सापकोटाले बारम्बार राजनीतिक सहमति नभएसम्म आफूले एमसिसीसँगको सम्झौता संसदमा नल्याउने बताइसकेका छन् ।

केहीअघि सम्म एमसिसीबारे सकारात्मक देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भर्खरै सकिएको महाधिवेशनपछि यसबारे कस्तो धारणा बनाउने हुन् भन्ने हेर्न बाँकी छ ।

एमसिसी अनुमोदानका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारम्बार ओलीलाई सहयोग गर्न अनुरोध गर्दै आएका छन् । यसअघि उनले सन्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीलाई भेट्न उनको निवासमा पठाएका थिए ।

नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका माधवकुमार नेपालप्रति पनि ओली रुष्ट देखिन्छन् । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो नेतृत्वमा गठन गरेका नेपालको दल पनि अहिले सरकारमा सहभागी छ । एमाले फुटाएर नेपाल सरकारमा गएपछि ओलीले बारम्बार उनको आलोचना गर्दै आएका छन् ।