डा. स्वर्णिम वाग्लेलाई एमालेबाट चुनाव लड्न ओलीको प्रस्ताव, किन गरे अस्वीकार ? - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

डा. स्वर्णिम वाग्लेलाई एमालेबाट चुनाव लड्न ओलीको प्रस्ताव, किन गरे अस्वीकार ?



काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा अर्थविद् स्वर्णीम वाग्लेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेको बताएका छन् ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भनेर ओलीले प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको दाबी गरेका हुन् ।

काठमाडौंमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा वाग्लेले काठमाडौं ७ बाट उम्मेदवार बनेमा आफूले सघाउने भनेको बताएका हुन् । त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार बन्न प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको वाग्लेले बताए ।

कांग्रेसबाट टिकटको अपेक्षा राखेका वाग्लेलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिएका थिएनन् । त्यस्तो अवस्थामा आफूलाई एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रस्ताव आएको बताएका हुन् ।

‘टिकटको आकांक्षी थिए, नपाएपछि मलाई एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्नसक्छु । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो,’ उनले भने, ‘रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते कांग्रेस नै हो ।’

वाग्लेले आफू सक्रिय पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको बताए । उनले आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए । ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौं, धेरै कुराहरू सीमा, बन्धन, नियममा रहनुपर्छ ।

अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु,’ उनले भने, ‘तत्कालमा जनमत बनाउने, युवाहरूसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट सुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु ।’