घनश्याम भुसालले अस्विकार गरे ओलीको निम्तो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

घनश्याम भुसालले अस्विकार गरे ओलीको निम्तो



काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तेस्रो धार (१० बुँदे सहमति पक्षधर) का नेताहरूलाई आइतबार छलफलका लागि बोलाए।

आफू बसेको सौराहाको सफारी होटलमा ओलीले तेस्रो धारका १० जना नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतका नेताहरू अध्यक्ष ओलीसँग छलफलका लागि पुगे।

तर, तेस्रो धारकै नेता घनश्याम भुसाल भने त्यहाँ पुगेनन्। ओलीले भेट्न बोलाएको प्रस्ताव भुसालले अस्वीकार गरिदिए।

अध्यक्षले भेट्न चाहेको खबर विष्णु पौडेलले भुसाललाई दिएका थिए।

‘ओली आफैंले बोलाउनुभएको होइन, विष्णु पौडेलमार्फत हो,’ भुसालनिकट एक नेताले भने। भुसालले विधिअनुसार अघि बढ्न तयार रहेको भन्दै ओलीसँग भेट्न जरूरी नरहेको जवाफ फर्काएको स्रोतले बतायो।

उनले उपाध्यक्षको दाबेदारीबाट पछि नहट्ने सुनाएका थिए। एमालेको तेस्रो धारबाट भीम रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन्।

रावल र भुसालको उम्मेदवारी घोषणापछि सर्वसम्मत नेतृत्व र पदाधिकारी चयन गर्न एमाले अध्यक्ष ओली ‘सकस’ मा छन्।

ओलीसँगको भेटमा शाक्य, ज्ञवालीलगायतका नेताहरू रावललाईसमेत मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका छन्।

ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको सुनाएका थिए।

अध्यक्षमा घोषणा गरेको रावल र उपाध्यक्षमा घोषणा गरेको भुसालनिकट नेताहरू बन्दसत्रस्थलमा पर्चा बाँडिरहेका छन्।

शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्य चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो। बन्दसत्रको उक्त निर्णयप्रति रावल र भुसालले असहमति व्यक्त गरेका छन्।