प्रधानमन्त्रीको घोषणा: भारतमा रहेका नेपालीलाई फर्काउंछु - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्रीको घोषणा: भारतमा रहेका नेपालीलाई फर्काउंछु



नयाँ दिल्ली-  प्रधानमन्त्री केपी शर्मा ओलीेले विभिन्न कारणले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने आकर्षक वातावरण निर्माण गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

तीनदिने राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीे ओलीले भारतमा नेपालीले गरिरहेको मेहनत फर्काउन आफ्नै मुलुकमा वातावरण निर्माण गर्ने बताएका हुन्। ठूलो संघर्षपछि प्रधानमन्त्री ओलीले स्थायी सरकार बनिसकेको र त्यसले नेपालीको विकासप्रतिको चाहना पूरा गर्ने बताए।

‘तपाईँहरुले विभिन्न बाध्यताले घर छोड्नु परेको छ। अब आफ्नै देश फर्कनु पर्छ र विकासमा साझेदारी गर्नुपर्छ, त्यो वातावरण बनाउन अहिलेको सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपालको संक्रमणकाल अन्त्य भएको र विकासका निम्ति अग्रसर भएको अवस्थामा आफू भारतको राजकीय भ्रमण आएको समेत उनले स्पष्ट पारे।

संसदमा प्राप्त करिब ७८ प्रतिशत मत पाएर आफू प्रधानमन्त्री भएको र लोकतन्त्रको सरंक्षणमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता उनले जनाए।

त्यस क्रममा भारतमा बस्ने नेपालीले प्रधानमन्त्रीसमक्ष राखेका मुख्य माग यस्ता छन्।

१) भारतमा हुने दुर्घटना बीमाको व्यवस्था गर्नुपर्ने

२) आधार कार्ड अनिवार्य बनाएपछि परेको समस्या समाधान गर्नुपर्ने

३) आधार कार्डले बञ्चित गराएको पेन्सन पाउनुपर्ने

४) भारतमा उच्च शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई पासपोर्ट अनिवार्य हुनुपर्ने तथा डलरको हिसावले शुल्क लिनुपर्ने व्यवस्थाको अन्त्य गर्दै भारतीय विद्यार्थी सरह सुविधा पाउनुपर्ने

५) उच्च शिक्षा अध्ययनपछि रोजगारीको समान अवसर हुनु पर्ने

६) उच्च शिक्षा हासिल गर्ने क्रममा डोमिसाइल प्रमाणपत्र वा आधार कार्ड माग्ने व्यवस्थाको अन्त्य हुनुपर्ने

७) औषधि उपचारमा आउने बिरामीलाई अन्तर्राष्ट्रिय शुल्क नलिने

८) भारतमा हुने नेपालीको मृत्युको निष्पक्ष छानबिन तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने

९ं) नेपालको सर्वोच्च अदालतले प्रवासी नेपालीलाई पनि मतदाता सूचीमा सुचीकृत गराउनु पर्ने दिएको निर्देशन कार्यान्वयन हुनुपर्ने

१०) भारतमा नेपालीको तथ्यांक संकलन हुनु पर्ने

प्रधानमन्त्री ओलीले नेपाल बनाउने काममा आफु हिँडिसकेको र त्यसमा भारतमा रहने नेपालीले सहयोग गर्नु पर्ने बताए। कार्यक्रम सुरु भएको केहीबेरमा आएको हावाहुरीले प्रधानमन्त्रीसमक्ष नेपाली समुदायले आफ्नो गुनासो भने पोख्न पाएनन्।