६ महीनाभित्र सबै नागरिकलाई खोप लगाउने प्रधानमन्त्री ओलीको घोषणा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

६ महीनाभित्र सबै नागरिकलाई खोप लगाउने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महीनाभित्र सबै नागरिकलाई खोप लगाइने घोषणा गरेका छन्। उनले सन् २०२१ भित्र सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्ने बताएका हुन् ।

बुधबार नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीदको विषय सुल्झदै गएको बताए। “खोप खरीदको विषय सुल्झदै गएको छ। सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइनेछ,” प्रधानमन्त्री ओलीले बताए। 

उनले अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने बताए। सन् २०२१ भित्र सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो। 

प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताए। बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे। 

यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए। यसका साथै त्यस्ता संस्थाहरूले कहिले काहिँ आफ्नो उचाई विपरीत संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्री ओलीले बताए। सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने उनको भनाइ थियो।