भोट हाल्नुअघि गम्भीर भएर सोच्न ओलीको आह्वान - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भोट हाल्नुअघि गम्भीर भएर सोच्न ओलीको आह्वान



काठमाडौँ- नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ ।

अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र सम्बृद्धिका लागि मत दिएर मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आगामी निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीरता पूर्वक विचार गर्न अपिल गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा मुलुकमा न्याय, समानता र सम्बृद्धिका जनआकांक्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आगामी निर्वाचन विभिन्न सङ्कटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।’

गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, ‘हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।’

कोभिड महामारीको चुनौतीबीच पनि एमाले नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको दाबी गर्दै छोटो अवधिमै संविधानको सफल कार्यान्वयन गरेको विषय घोषणापत्रमा समेटिएको छ ।