केपी ओलीकै नगरपालिकामा कांग्रेसको प्यानल विजयी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

केपी ओलीकै नगरपालिकामा कांग्रेसको प्यानल विजयी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन्। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ।

अघिल्लो निर्वाचनमा पनि यो वडामा कांग्रेसले बाजी मारेको थियो। कांग्रेसका कमलनाथ आचार्यले एमालेका रवि श्रेष्ठलाई १३ मतले पराजित गरेका थिए। यसपटक भने कांग्रेसले मतान्तर बढाएको छ। अहिले एमालेबाट वडाध्यक्षमा पराजित विष्ट त्यति बेला वडा सदस्य निर्वाचित भएका थिए।

एमाले अध्यक्ष वलीले वडा नं. २ बालकोटस्थित महेन्द्र शान्ति केन्द्रमा मतदान गरेका थिए। उनको निर्वाचन क्षेत्र झापा भए पनि भक्तपुरको बालकोटबाटै मतदान गर्ने गरेका छन्।

सूर्यविनायकको मेयरमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ। कांग्रेस उम्मेदवार निशान ढुंगेलले ३ हजार १३१ मत पाउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका उम्मेदवार वासुदेव थापाले २ हजार ७६० मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा भने एमालेकी सरिता भट्टराईले अग्रता बनाएकी छिन्। उनले २ हजार ८२३ मत पाउँदा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १ हजार ४४८ मत पाएका छन्।