'गिनिज बुकमा लेखाउनलायक ओलीले गरेका ५ काम' - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

‘गिनिज बुकमा लेखाउनलायक ओलीले गरेका ५ काम’



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीविरुद्ध कटाक्ष गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेख्ने हो भने आफू र आफ्नो पार्टीले गरेका कामले नै आधा गिनिज बुक भरिने दाबी गरेपछि व्यंग्य गर्ने क्रम बढेको हो।

सामाजिक सञ्जालदेखि पत्रिकाका कार्टुनसम्म ओलीको उक्त अभिव्यक्ति मजाकको विषय बनेको छ । कतिपयले ओलीलाई अहिलेसम्मकै गफाडी भनेका छन् भने कसैले बिरामी परेको टिप्पणी गरेका छन्।

जसपा संघीय अध्यक्ष डा. भट्टराईले ‘ओलीको गिनिज बुक रेकर्ड’ शीर्षकमा ओलीले गरेका ५ काम देखाएका छन्।

यस्ता छन् डा. भट्टराईले देखेका पाँच काम :

१. दुईदुईपटक असंवैधानिक ढंगले संसद् विघटन र अदालतबाट पुनर्स्थापना

२. संघमा दुईतिहाइ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा

३.सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौं कानेखुसी

४. मुखमा कम्युनिस्ट, मनमा ठोरीवाला राम!

५. हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिङ्गाल सेना!

गत बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विश्वमै रेकर्ड राख्ने काम गरेको र ती सबै लेख्ने हो भने आधा गिनिज बुक आफूहरूकै कामले भरिने भाषण गरेका थिए।

यस क्रममा उनले दुईदुईवटा मिर्गाैला फेरेर पनि प्रधानमन्त्री बनेको व्यक्ति (आफू) नेपालमा मात्रै होला पनि भनेका थिए। अर्थात् यो पनि गिनिज बुकमा लेख्ने एउटा काम भएको उनले दाबी गरेका थिए।