प्रधानमन्त्री ओलीको एक तिर, तीन निशाना - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

प्रधानमन्त्री ओलीको एक तिर, तीन निशाना



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको बिषयले मंगलबार दिनभर चर्चा पायो । निर्वाचनको तयारीबारे बुझ्न मात्र प्रधानमन्त्री आयोगमा पुगेको हल्ला पिटिएपनि कुराको चुरो भने त्यस्तो थिएन । एक पक्षले निर्वाचनको तयारीबारे बुझ्न मात्रै निर्वाचन आयोग पुगेको दाबी गरिरहे पनि ओलीले भने एक तिरले तीन निशाना लगाएका छन् ।

अनौपचारिक विभाजन भैसकेको नेकपाको विवादलाई लिएर निर्वाचन आयोगले अध्ययन थाल्दै गरेको अवस्थामा फ्याट्ट प्रधानमन्त्री ओली निर्वाचन तयारीको बहानामा आयोग पुगे । उनी आयोग पुगेरै नेकपाको विवादमा नछिर्न आयोगलाई दवाडमुलक निर्देशन दिए । उनले दिएको निर्देशन सुनेर आयोगका पदाधिकारीहरु नै अचम्मित बनेका थिए ।

पार्टीको कुनै विवादमा प्रवेश गरेर निर्वाचनका बेला अनावश्यक समय खेर नफाल्न आयोगका पदाधिकारीहरुलाई ओलीले दवाव दिएका थिए । प्रधानमन्त्री ओलीले दिएको निर्देशन पनि सामान्य शैलीको नभएको आयोगका एक पदाधिकारीले बताए । ‘म बहुमतको प्रधानमन्त्री हुँ, मैले सूर्य चिन्हबाहेक अर्को चुनाव चिन्हमा कहिल्यै चुनाव लडेको छैन र नेकपामा मेरो बाहेक कसैको हस्ताक्षर चल्दैन ।’ ओलीको निर्देशन उद्घृत गर्दै ति पदाधिकारीले भने ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नेकपाको आधिकारिकताका लागि यही माघ २० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले पत्र पेश गरेको जानकारी गराएलगत्तै ओली आक्रोशित हुँदै निर्देशन दिएका थिए ।

एक तिर तीन निशाना

प्रधानमन्त्री ओली निर्वाचन आयोग जानु र पार्टी विवादमा नछिर्न दवाव दिनुलाई निर्वाचन आयोगकै केहि पदाधिकारीहरुले अस्वाभाविक रूपमा लिएका छन्।

पछिल्ला केहि दिनयता रक्षात्मक देखिएका प्रधानमन्त्री ओलीले आयोगलाई आफै उपस्थित भएर दवाव दिनुलाई पनि ओली समुहले दलको आधिकारिकता नपाउने भएपछि दलको विवादमा आयोग नछिरोस भन्ने अभिप्राय भएको बुझिन्छ ।

विभिन्न सभा र समारोहमा आफूले नेतृत्व गरेको समूह नै खास नेकपा रहेको भन्दै आधिकारिकता आफैले पाउने दाबी गरिरहेका ओलीले आयोगलाई पार्टी विवादमा नछिर्न निर्देशन दिनुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्ड-नेपाल चोइटिएर गएको टिप्पणी गरेका प्रधानमन्त्री ओलीले आफूले आधिकारिकता नपाउने अवस्था देखेपछि दवाव दिएको चर्चा चलिरहेको छ ।

भारतले सोँचजस्तो साथ् नदिनु, सर्वोच्च अदालतमा आफ्नो पक्षमा बहस निकै फितलो हुनु, प्रचण्ड-नेपाल समुहले आन्दोलन झनै सशक्त बनाउँदै लैजानु, संयुक्त आन्दोलन गर्नेबारे दलहरूले छलफल अगाडी बढाउनु, आफूले नेतृत्व गरेकै समुहमा मतभेद सुरू हुनु र शक्ति प्रदर्शनमा जनसहभागिता कम हुनुले प्रधानमन्त्री ओली सशंकित बन्दै गएको अनुमान गर्न सकिन्छ ।

नेकपा विभाजित हुँदा चुनावमा बढारिने ओली समुहकै नेताहरूले पटकपटक बताएका छन् । यहि परिस्थितिमा चुनावमा जाँदा १० सिट पनि नआउने आँकलन ओली निकटकै प्रभावशाली नेताहरूले गरेका छन् । तत्काल चुनाव पनि नहुने र सरकारमा लामो समय बस्न पाइने भन्दै हाल ओली नजिक भएका उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूनिकटलाई ब्रिफिङ गरिरहेका छन् ।

अकस्मात आयोगमा छिरेर प्रधानमन्त्री ओलीले तिर चलाएर तीन निशाना लगाएका छन् । पहिलो निशाना उनले प्रचण्ड माधव समूहको आन्दोलनमा देखिन्छ । चुनावको तयारी गरेजस्तो गरेर विरोधीलाई तितरबितर पार्ने उनको पहिलो रणनीति हो ।

दोस्रो निशाना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि देखिन्छ । चुनाव होला र बसीबसी दुई तिहाई ल्याएर देश नै खाइएला भन्दै र्याल काड्दै बसेको नेपाली कांग्रेसलाई थमथमाउने उनको रणनीति प्रष्ट बुझ्न सकिन्छ । प्रचण्डको पछिल्लो अभिव्यक्तिले ओलीको रणनीति फेरिएको देखिन्छ । संयुक्त आन्दोलन गर्नेबारे छलफल भैरहेको प्रचण्डले खुलासा गरेका थिए । यस्तोमा कांग्रेसलाई संयुक्त आन्दोलनमा जान नदिन ओलीले चुनावको तयारी गरेको भान पार्न सफल भएका छन् ।

र प्रधानमन्त्री ओलीको तेस्रो निशाना पार्टीको आधिकारिकता र चुनाव चिन्ह हो । पार्टीको आधिकारिकता आफूले नपाउने अवस्था आइसकेको आंकलन ओलीले गरेका छन् । नेकपाको विवाद छिट्टै टुंग्याउन दवावमा परेको आयोगलाई दलको विवादमा नछिर्न दवाव बढाएर तत्कालको लागि आफैले चाहेजस्तो माहोल बनाउने उनको रणनीति छ ।