चुनाव हारेपनि ओलीका झन ठूला कुरा - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

चुनाव हारेपनि ओलीका झन ठूला कुरा



काठमाडौं- स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपनि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पारा भने उस्तै छ । अन्य दललाई गाली गर्ने शैलीदेखि नेताहरूलाई होच्च्याउने उनको पुरानो बानी परिवर्तन भएको छैन ।

स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

‘गठबन्धन टुटाउन बल गर्नु प-यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।

‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे ।

दुई-दुईपटक संविधानविपरीत संसद् विघटन गरेका ओलीले आफूले गरेको संसद् विघटनको बचाउ गर्दै संसद् विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टीभित्रै नेतृत्वले आफ्नो कमीकमजोरी सच्याउन नेताहरूबाट सुझाव आएको भए पनि ओली आफ्नो कमीकमजोरी सच्याउन तत्पर नभई उल्टै ढाकछोप गरेर हिँड्ने गरेका छन् । स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी नेतृत्व सच्चिनुपर्ने आवाज उठाउँदा ओलीले उल्टै कारबाहीको ‘डन्डा’ चलाउन खोजेका छन् । पार्टी विभाजनअघि र अहिले पनि ओलीको शैली केही नफेर्रिएको एमालेकै नेताहरू बताउँछन् ।

पार्टीभित्र एकता कायम गरेर पार्टीलाई बलियो बनाउनुको साटो अनुशासन आयोगमार्फत कारबाहीको डन्डा चलाउन थालेका ओलीले एमाले विभाजन गरेकालाई पार्टीमा स्वागत नहुने अडान व्यक्त गरेका छन् । एमाले विभाजन गरेर गएकालाई पार्टीमा ल्याउनुपर्ने वा वामगठबन्धन गर्नुपर्ने आवाज उठे पनि उनी पार्टीविभाजन गर्नेलाई पार्टीमा स्वागत नगर्ने अडानमा छन् ।

यस्तै, ओलीले अन्य दलसँग सहकार्य र समन्वयन गर्नुको साटो अनावश्यक आलोचनामै रमाउने गरेका छन् ।

यसअघि, संसद् बैठकमा उनले अन्य दललाई चर्को आलोचना गर्दै आफ्नो बचाउ गरे । लगत्तै माओवाद्री केन्द्र्रका अध्यक्ष प्रचण्डले ओलीले आफ्नो कमजोरी सच्याउने र वाम एकताका लागि आह्वान गर्लान् भन्ने आफूलाई लागे पनि दम्भ अझै नहटेको संसद् बैठकमै टिप्पणी गरे ।

एमालेका अधिकांश नेताहरू पार्टी नेतृत्वले कमीकमजोरी सच्याएर वाम एकता गरेर जानुपर्ने पक्षमा देखिएका छन् । तर, ओली भने विगतको समीक्षा गर्नेभन्दा पनि आरोपप्रत्यारोप र आफ्ना कमजोरी ढाकछोप गरेरै अघि बढ्ने पक्षमा देखिएको पाइएको राजधानीमा खबर छ ।